दश वर्षको शसस्त्र जनयुद्ध तथा संयुक्त जनआन्दोलनहरुको बलमा जनताका प्रतिनिधिहरुद्वारा जारी गरिएको संविधान २०७२ ले व्यवस्था गरे अनुसारको स्थानीय सरकारको चुनाव तपाई हाम्रो सामु आइसकेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतको अधिकारहरु प्रयोग गर्ने अधिकार सम्पन्न सोलुदुधकुण्ड नगरपालिकाको लागि जनप्रतिनिधिहरु चयन गर्ने दायित्व अब तपाई हामी सोलुदुधकुण्ड नगरवासीहरुको काँधमा छ । जन अधिकारहरुको प्राप्तिको आन्दोलनले धेरै हदसम्म सफलता प्राप्त गरिसकेपछि आम जनसमुदायको ध्यान विकास, निर्माण र समृद्धि तर्फ गइसकेको वर्तमान परिप्रेक्ष्यमा हुन लागेको आगामी २०७४ जेठ ३१ गते हुने स्थानीय सरकारको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले पार्टीको तर्फबाट योग्य, इमान्दार, समाजसेवी तथा लोकप्रिय राजनीतिकर्मी व्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । यसै सन्दर्भमा किसान मजदुर, विपन्न र उत्पीडित जनताहरुको पार्टी नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रको तर्फबाट स्थानीय तहको चुनावको लागि घोषणापत्र जारी गरिसकेको छ भने हाम्रो सोलुखुम्बु जिल्ला पार्टीको तर्फबाट समेत प्रतिबद्धतापत्र सार्वजनिक भइसकेको छ । ती घोषणा र प्रतिबद्धताहरुप्रति प्रतिबद्ध बन्दै सोलुदुधकुण्ड नगरवासी जनताहरुको सामाजिक न्याय र सुशासनयुक्त समृद्ध आधुनिक सोलुदुधकुण्ड नगरपालिका निर्माण गर्ने चाहनालाई साकार पार्न नेकपा (माओवादी केन्द्र) सोलुदुधकण्ड नगरपालिका समिति निम्न प्रतिबद्धताहरु जाहेर गर्दछ :
शिक्षा
· नगर क्षेत्रका सबै विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नमा विशेष जोड दिई नगर क्षेत्र पुरैलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा विकास गर्ने तथा गुणस्तरीय शिक्षाको लागि नगर क्षेत्रका कोही पनि बालबालिकाहरुलाई नगर क्षेत्र बाहिर जान नपर्ने स्थितिको सिर्जना गर्ने ।
· माध्यमिक तहसम्मको शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गरी स्थानीय परिवेश र समय अनुकूल व्यवहारिक पाठ्यक्रम विकास गरी कार्यान्वयन गर्ने गराउने ।
· प्राविधिक तथा व्यवसायिक शिक्षामा विशेष जोड दिने ।
· सबै टोल र बस्तीहरुबाट विद्यालयसम्मको दुरी आधा घण्टा भन्दा बढी टाढा नहुने गरी सेवा विस्तार गर्ने ।
· आधारभूत तह (कक्षा १–८) सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै पौष्टिक दिवा खाजाको व्यवस्था गर्ने ।
· गुणस्तरीय उच्च शिक्षाका लागि नगरपालिका क्षेत्रकै कुनै उपयुक्त गाउँहरुमा कलेज क्षेत्र निर्माण गरी सबै विषयहरुमा अध्ययन अध्यापन र अनुसन्धान हुन सक्ने गरी पूर्वी हिमाली क्षेत्र (प्रदेश नं. १) को विश्व विद्यालय सोलुदुधकुण्ड नगरपालिकामा स्थापना गर्न पहल गर्ने ।
· तत्कालै देखि नगरपालिका क्षेत्र भित्रका क्याम्पसहरुलाई सुविधा सम्पन्न र गुणस्तरीय बनाई अन्य थप विषयहरुको पनि अध्ययन अध्यापन सुरु गर्न पहल गर्ने ।
· नगर क्षेत्रमा अध्ययन अध्यापन नहुने विषयहरुमा उच्च शिक्षा आर्जन गर्न अन्य सहरमा जाने उत्कृष्ट क्षमतावान/प्रतिभाशाली विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने ।
· नगर क्षेत्रको क्याम्पसहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि सुलभ महिला तथा पुरुष छात्रावासको सुविधा उपलब्ध गराउने ।
· काठमाडौंउपत्यकामा उच्च शिक्षा आर्जन गर्न जाने विद्यार्थीहरुका लागि निःशुल्क वा सम्भव भएसम्म कम शुल्कमा सामुहिक छात्रवासको व्यवस्था मिलाउने ।
· युवाहरुलाई रोजगारमूलक प्राविधिक तथा व्यवसायिक तालिम दिन विशेष तालिम केन्द्रहरु नगरको कुनै एक उपयुक्त वडामा विकास गरी सकेसम्म निःशुल्क रुपमा तालिम उपलब्ध गराउने । स्वास्थ्य सेवा
· फाप्लुमा सबै खाले सुविधा सम्पन्न गुणस्तरीय विशेषज्ञ स्तरीय व्यवस्थित अस्पतालको निर्माण गर्ने र स्वास्थ्य असुरक्षाको कारण काठमाडौं लगायत अन्य सहरहरुमा बसोबास गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने ।
· जनस्वास्थ्य सम्बन्धी गतिविधि पूर्ण प्रभावकारी बनाउँदै सबै वडाहरुका टोलबस्तीहरुमा प्राथमिक तथा आपतकालिन सेवा दिने स्वास्थ्य संस्थाबाट खोप सेवा, गर्भवती सेवा, वृद्धि अनुगमन सेवा, परिवार नियोजन सेवाहरु तथा अन्य आधारभूत सेवा दिने र यस्तो सेवा प्रदान गर्ने स्थल कसैले पनि आधा घण्टा भन्दा बढी हिड्नु नपर्ने गरी स्थापना गर्ने ।
· नगरबासी सबैलाई स्वास्थ्य बिमा उपलब्ध गराउने र सबै खाले उपचार सेवा (प्राथमिक तथा विशेषज्ञ स्तरीय) उपलब्ध गराउने ।
· फाप्लु अस्पतालमा सुविधा सम्पन्न शवगृहको व्यवस्था गर्ने ।
· सबै स्वास्थ्यकर्मीहरु लगायत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष प्रोत्साहन गर्न कार्यक्रम बनाई लागु गर्ने ।
· नगरका सबै वडाहरुमा एम्बुलेन्स राखी एम्बुलेन्स सेवा उपलब्ध गराउने । स्वस्थ पिउने पानी
· स्वस्थ पिउने पानी नै स्वस्थ मानव जीवनको प्रमुख आधार भएकोले नगरपालिकाको सबै वडाहरुका जनताहरुलाई ३ वर्ष भित्र व्यवस्थित र निःशुल्क स्वच्छ पिउने पानीको सेवा उपलब्ध गराउने ।
सञ्चार
· नगरपालिका क्षेत्रमा टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवालाई व्यवस्थित र भरपर्दोबनाउने ।
· प्रत्येक वडाको महत्वपूर्ण स्थानहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन पहल गर्ने ।
· नगरपालिका क्षेत्रमा सञ्चालनरत एफ.एम.हरुलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा प्रिन्ट मिडियालाई आवश्यक प्रोत्साहन गर्ने ।
· नगरपालिकाको सहयोगमा सामुदायिक टेलिभिजन सेवा स्थापना गरी शेर्पा, तामाङ लगायत अन्य स्थानीय भाषाभाषीको समेत कार्यक्रम सञ्चालन गर्ने ।
यातायात सेवा
· फाप्लु विमानस्थल र टर्मिनल भवनको स्तरोन्नती गर्ने तथा विमानस्थल र विमानको सुरक्षाको विशेष व्यवस्था गर्ने । खासगरी आपतकालिन तथा पर्यटकीय सेवाका लागि हेलिकप्टर सेवालाई फाप्लु विमान स्थलमा नै आधार बनाई आपतकालिन उद्दार र पर्यटन कार्यगर्ने गराउने विशेष व्यवस्था मिलाउने ।
· नगरपालिका क्षेत्रमा आन्तरिक यातायातको सुलभ व्यवस्था गर्ने, लामो दुरीको सेवालाई व्यवस्थित बनाउने, बस तथा ट्रक पार्क अन्य यातायातका साधन पार्क गर्न उपयुक्त पार्किङ सुविधाहरु तयार गर्ने ।
· नगरपालिका क्षेत्रमा चल्ने यातायातका साधनहरुलाई वातावरणमैत्री बनाउन विशेष जोड दिने ।
स्थानीय सडक तथा अन्य सडक
· नगरपालिका क्षेत्रभित्रका सबै टोल वा बस्तीहरुसम्म पुग्ने सडकको ट्रयाक नखुलेका क्षेत्रमा यथाशीघ्र चाँडो ट्रयाक खोल्ने ।
· खुलिसकेका ट्रयाकहरुलाई व्यवस्थित गर्दै यथाशीघ्र चाँडो ग्राभेल तथा कालोपत्रे गर्दै पक्की सडक बनाउन यथाशीघ्र पहल गर्ने ।
· नगरसँग जोडिने अन्य सबै सडक मार्गहरुको स्तरोन्नती गर्दै सबै छिमेकी गाउँपालिकाहरु र त्यस अन्तर्गतका वडाहरुमा जोड्ने सडक सञ्जाल विस्तार गर्ने ।
· नगरपालिकाबाट ओखलढुङ्गा हुँदै राजधानी र तराई जोड्ने व्यवस्थित र फराकिलो सडक निर्माण गर्ने, नगरपालिकाबाट तामाखानी हुँदै लिखुपिके गाउँपालिकाबाट राजधानी जोड्ने सडक, नगरबाट टाक्सिन्दु हुँदै दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोडने सडक र नगर हुँदै दुधकौशिका, सोताङ र महाकुलुङ जोड्ने सडकलाई यथाशीघ्र सम्पन्न गर्ने ।
बैंकिङ्ग तथा सहकारी सेवा
· नगरपालिकाको हरेक वडाहरुका पायक पर्ने स्थानहरु यथाशीघ्र चाँडो बाणिज्य बैंकका शाखा कार्यालयहरु खोली सहज र सुलभ रुपमा बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने ।
· नगरपालिकामा सञ्चालनरत सहकारी संस्थाहरुलाई समयानुकूल विकास गरी थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने ।
रोजगार
· निजामती सेवा अन्तर्गतका लोकसेवा आयोगको परीक्षा केन्द्र सोलुदुधकुण्ड नगरपालिकामा ल्याउन आवश्यक पहल गर्ने ।
· सोलुदुधकुण्ड नगरपालिकाका कोही पनि युवाहरुलाई उपयुक्त रोजगारीको अवसरको लागि अन्य स्थान वा विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न आवश्यक सबैखाले पहलहरु गर्ने ।
· एक परिवार एक रोजगारको सरकारी नीतिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
· नेपाल सरकारको नीति अनुसारको बेरोजगार युवाहरुलाई बेरोजगार भत्ता तथा स्वरोजगार योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्ने ।
आधुनिक शहरी विकास
· सामाजिक न्याय र सुशासनयुक्त समृद्ध आधुनिक सोलुदुधकुण्ड नगरपालिका निर्माण गर्ने ।
· सोलुदुधकुण्ड नगरपालिकालाई व्यवस्थित र आधुनिक सुविधा सम्पन्न नमुना नगरको रुपमा विकास गर्ने उद्देश्यका साथ भू–उपयोग नीति विकास गरी दीर्घकालिन गुरु योजना यथाशीघ्र तयार गरी सोही अनुसार
आवश्यक भौतिक पूर्वाधारहरुको विकास गर्ने । गुरुयोजना बनाउँदा स्थानीय जनताहरुसँग आवश्यक परामर्श र सहमति लिई गुरुयोजना तयार गर्ने ।
· गुरु योजना तयार गर्दा सोलुदुधकुण्ड नगरपालिकाको १०ओटै वडाहरुलाई विभिन्न विशेष क्षेत्रको रुपमा विकास गर्ने, जस्तै – कुनै एक वडालाई विश्वविद्यालय तथा कलेज क्षेत्र, अर्को वडालाई स्वास्थ्य सेवा क्षेत्र, अर्कोमा खेलकुद संरचना तथा रंगशाला, अर्कोमा मनोरञ्जन पार्क, वनस्पति उद्यान तथा चिडियाखाना, अर्कोमा साँस्कृतिक सम्पदा तथा संग्रहालय क्षेत्र त्यसैगरी अर्को वडामा उद्योग तथा कलकारखाना क्षेत्र, अर्कोमा विज्ञान तथा प्रविधि पार्क एवं प्रदर्शनी केन्द्र, अर्कोमा व्यापारिक तथा व्यापारिक प्रदर्शनी केन्द्र, अर्कोमा यात्रा तथा पर्यटन प्रवद्र्धन केन्द्र आदिको रुपमा विकास गर्ने ।
· नगरबासी जनताको आधारभूत आवश्यकता गाँस, वास र कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, सञ्चार, यातायात, ऊर्जा, बैंकिङ्ग सेवा र रोजगारीको अवसरलाई सबै नगरबासीको सुलभ पहुँचमा पु¥याउने तथा त्यसको गुणस्तरीय विकास गर्ने ।
· नगरका सबै वडाहरुका टोल वा क्षेत्रमा खेलकुद संरचना, पार्क वा उद्यान, साँस्कृतिक केन्द्र, पुस्तकालय, सूचना केन्द्र, वृद्ध मिलन केन्द्र, शिशु स्याहार केन्द्र, प्राथमिक तथा आपतकालिन स्वास्थ्य संरचना निर्माण गर्ने
साथै सबै खाले संरचनाहरुको निर्माण गर्दा बाल, वृद्ध र अपाङ्ग मैत्री संरचनाहरु बनाउने । सबै वडाहरुका निश्चित क्षेत्रमा, व्यापारिक केन्द्र र निश्चित क्षेत्रमा आवास केन्द्र, निश्चित क्षेत्रमा शिक्षा, स्वास्थ्य आदि केन्द्रहरु स्थापना गरी प्रत्येक टोल र बस्तीहरुबाट बढीमा आधा घण्टाको दुरी कायम हुने गरी सेवा विस्तार गर्ने ।
· नगरका सबै वडाहरुका टोल वा बस्तीहरुसम्म पुग्ने सडक सञ्जाल, स्वच्छ पिउने पानी तथा ढल निकास, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा पु¥याउने ।
· आधुनिक तथा व्यवस्थित हुलाक सेवाको समेत व्यवस्था गरी डाक सेवा तथा पार्सल ढुवानी र वितरण सेवालाई प्रभावकारि बनाउने ।
वातावरण तथा सरसफाइ
· नगरपालिका क्षेत्रलाई स्वस्थ, सफा र हराभरा बनाउने । नगर क्षेत्र र वरपरका गाउँपालिका समेत क्षेत्रमा वातावरण संरक्षण कार्यक्रम चलाउने र नगरपालिका क्षेत्रमा नदि, नाला पानीका मुहानहरुको संरक्षण गर्ने, ढल निकासको उचित प्रबन्ध र विकेन्द्रित फोहोरमैला व्यवस्थापन कार्यक्रमहरु सञ्चालन गर्ने ।
विपद व्यवस्थापन
· आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्था गर्ने । बाढी, पहिरो नियन्त्रण लगायत सबै खाले विपद व्यवस्थापनको लागि आवश्यक तयारी गर्ने ।
· सबै नगरवासीहरुलाई भुकम्पीय जोखिमबाट बचाउन भुकम्प सुरक्षा तालिम दिई नियमित भूकम्प सुरक्षा ड्रिलहरु आयोजना गर्ने ।
· आगलागी, बाढी पहिरो तथा भुकम्प पिडित नगरवासीहरुलाई यथाशीघ्र उचित राहत सुविधा उपलब्ध गराउन पहल गर्ने र नगरपालिकाकै सहयोगमा आवश्यक बिमा सेवाको व्यवस्था मिलाउने ।
सुशासन
· आधुनिक सूचना प्रविधिको प्रयोग गर्दै नगरपालिकाको सबै खाले आय तथा व्यय विवरण तथा नगरपालिकाले उपलब्ध गराउने सेवा तथा नगरपालिकाले सञ्चालन गर्ने विकास कार्यक्रमहरुलाई पूर्ण रुपमा पारदर्शी, चुस्त दुरुस्त र प्रभावकारी बनाउने ।
· जन्म, विवाह तथा मृत्युदर्तालगायत नागरिकता पासपोर्ट सिफारिस जस्ता सेवाहरु सकेसम्म अनलाइन सेवा मार्फत गर्न गराउन पहल गर्ने।
· नगरवासी हरेक व्यक्तिहरु र प्रत्येक घरको तथ्यपरक विस्तृत विवरणहरुलाई सुचना प्रविधिमा आधारित डाटावेस तयार गरी सोही अनुसार बहुउपयोगी परिचयपत्र र घर नं. वितरण गर्ने।
· वडाहरुको संरचनालाई व्यवस्थित गर्न र सबै ठाउँका जनतालाई पायक पर्ने गरी वडा संरचनाहरु मिलाउन आवश्यक पहल गर्ने ।
· नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था गरिएको विषयगत क्षेत्रहरुको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक नीति, ऐन, नियम, विनियम निर्माण गरी तिनको सफल कार्यान्वयन गर्ने ।
· नगरपालिकाले दिने न्यायिक सेवाहरुलाई स्वतन्त्र, पारदर्शी र निष्पक्ष रुपमा उपलब्ध गराउने ।
· शिक्षक तथा कर्मचारीको उच्च मनोबल र प्रभावकारी सेवाको लागि कार्य सम्पादनको आधारमा पुरस्कार तथा दण्डको व्यवस्थालाई प्रभावकारी पार्नका साथै हाल अन्यौलमा रहेका सेवा निवृत्तभरण (पेन्सन) को सुनिश्चितताको लागि जोड दिने ।
धर्म तथा संस्कृति
· नगरपालिका क्षेत्रका सबै धार्मिक स्थल, मठमन्दिर, गोन्पाहरुको संरक्षण र संवद्र्धन गर्ने, ज्वालामाई, गुप्तकाली, चाँगेस्थान आदिको विषेश संरक्षण गर्ने । जुनवेशी, चिवाङ, च्याल्सा, मेन्दोपाके, टाक्सिन्दु, केरुङ, झाप्रे, गोरा तामाङ गुम्बा, खोरिया, कुनिखोप, सल्लेरी लगायतका ऐतिहासिक र पुरातात्विक एवं विशेष महत्वका गुम्बाहरुको विशेष संरक्षण गर्ने र गोन्पा शिक्षाको आवश्यक प्रवद्र्धन गर्ने ।
पर्यटन
· नगरबासी जनताको विभिन्न जातिय, भाषिक, साँस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन प्रवद्र्धनको लागि विशेष रुपमा उपयोग गर्दै पर्यटन क्षेत्रको विकास गर्ने ।
· ज्वालामाई मन्दिर र पिके डाँडालाई जोड्ने पदमार्ग र केवलकारको विकास गरी हिमाल र सूर्योदय दृश्यावलोकन तथा धार्मिक पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने, जुनबेशी क्षेत्र (तुम्बुक, टाक्टोर, जुनबेशी, मोपुङ, फुङ्मोचे आदि समेटिने गरी) विशेष धार्मिक तथा साँस्कृतिक क्षेत्रको रुपमा विकास गरी पर्यटन विकास गर्ने, नुम्बुर हिमाल र दुधकुण्डलाई टाक्सिन्दु गुम्बासँग जोड्ने पद तथा सडक मार्ग विकास
गर्ने, चिवाङ गोन्पा, रात्नाङ्गे तथा सिलिगुडी डाँडा, च्याल्सालाई जोड्ने पदमार्ग र सडक मार्ग निर्माण गरी पर्यटन विकास गर्ने ।
· पत्ताले डाँडालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनको रुपमा प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, केरुङ, टाप्टिङ र गोरा क्षेत्रलाई पिके डाँडासँग जोड्ने ।
विद्युत तथा ऊर्जा
· नगर क्षेत्रमा सञ्चालनरत ऊर्जा परियोजनाहरुको समय सीमा भित्र नै सम्पन्न गर्न आवश्यक पहल गर्ने एवं नयाँ ऊर्जा परियोजनाहरु पहिचान गर्ने र सुरु गर्ने कार्य गरी ऊर्जा क्षेत्रको पूर्ण विकास गर्ने ।
· सोलु सल्लेरी क्षेत्रमा जारी लोड सेडिङ अन्त्य गर्न तत्कालै पहल कदमी लिने । विद्युत खपतलाई कम गराउन सहुलियत दरमा ीभ्म् बल्ब नगरवासीलाई उपलब्ध गराउन पहल गर्ने ।
· बिजुली नपुगेको नगरपालिकाको सबै क्षेत्रमा यथाशीघ्र चाँडो बिजुली पु¥याउन आवश्यक पहल लिने ।
सामाजिक सुरक्षा तथा सामुदायिक सेवा
· सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दिइने वृद्ध, अपाङ्ग, एकल महिला तथा अन्य भत्ता कार्यक्रमहरुलाई सहज एवं सरल बनाउने तथा नगरपालिकाको आफ्नै स्रोतबाट थप सुविधा वृद्धि गर्न आवश्यक पहल गर्ने ।
· घरेलु हिंसा तथा अन्य हिंसाहरुबाट पीडित महिलाहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, दलित, विपन्न तथा एकल महिलाहरुलाई जीविकोपार्जनको लागि विशेष व्यवसायीक तथा सीपमूलक तालिम प्रदान गर्ने र व्यवसाय सञ्चालनको लागि सस्तोदरमा ऋण सुविधाहरु उपलब्ध गराउन पहल गर्ने ।
· नगरवासीहरुले निर्माण गरेका सबै खाले सामुदायिक तथा साँस्कृतिक भवन एवं गुठीहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने ।
· फाप्लु डाँडा र सोलु खोलामा व्यवस्थित शव दाह स्थान र घाट निर्माण गर्ने । नगरपालिका क्षेत्रका सबै वडा र क्षेत्रहरुमा दाह संस्कार गर्नका लागि आवश्यक व्यवस्था मिलाउने ।
· राज्यद्वारा विद्यार्थी, महिला, अपाङ्ग वृद्धहरुलाई यातायात लगायतका सार्वजनिक सेवाहरुमा उपलब्ध गराइने
छुटको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
· आगामी दुई वर्ष भित्र सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्र निरक्षरता अन्त्य गर्न विशेष कार्यक्रम सञ्चालन गरी पूर्ण साक्षर नगर बनाउने ।
· अपाङ्ग दीर्घ रोगी, वृद्ध र समाजमा पिछडिएका महिला दलित र अन्य समुदायलाई विशेष सुविधाहरु उपलब्ध गराउने ।
खेलकुद
· नगरको कुनै एक वडामा खेलकुद रंगशालाहरु विकास गरी प्रदेश नं. १ को हिमाली क्षेत्र समेट्ने र युवाहरुलाई खेलकुद तथा शारीरिक विकासमा विशेष जोड दिने ।
· नगर क्षेत्रमा विभिन्न खेल प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गरी विभिन्न खेलमा सम्भावना बोकेका उत्कृष्ट खेलाडीहरुलाई उपयुक्त ठाउँमा उच्च स्तरीय प्रशिक्षणको लागि व्यवस्था गर्ने । उद्योग, कृषि तथा पशुपालन
· नगर क्षेत्रको कुनै एक वडालाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकसित गरी उद्योग, कलकारखानालाई
प्रोत्साहन गर्ने र प्रशस्त रोजगारको अवसर सिर्जना गर्ने ।
· नगरपालिका क्षेत्रमा भवन तथा आवास निर्माण, पसल तथा होटल व्यवसाय, व्यापारिक केन्द्र तथा प्रतिष्ठान सञ्चालन, उद्योग, कलकारखाना सञ्चालन वा स्थापनाका लागि भवन डिजाइन तथा अनुमति आदि सेवा सहज ढङ्गले प्रदान गर्ने ।
· सबै वडाका विशेष क्षेत्रहरुमा वन जंगलको उचित व्यवस्थापन गर्ने, कृषि तथा फलफूल र पशुपालनको विकास गर्न कृषक तथा पशुव्यवसायीहरुलाई विशेष सुविधाहरु उपलब्ध गराउने, कृषि तथा पशु विमालाई सहज र प्रभावकारी रुपले सञ्चालन गर्ने । नेपाल सरकारले सुरु गर्न लागेको किसान पेन्सन कार्यक्रमलाई व्यवस्थित तथा सरल तरिकाले कार्यान्वयन गर्ने ।
· नगरपालिका क्षेत्र र सोलुखुम्बु जिल्लाबाट विदेशमा गई बसोबास गरीरहेका सबै व्यक्तिहरुलाई सोलुदुधकुण्ड नगरपालिका क्षेत्रको विकास निर्माणका लागि लगानी मैत्री वातावरण बनाई विशेष भौतिक पूर्वाधारहरु तथा उद्योग प्रतिष्ठानहरु आदि सञ्चालन गर्ने गराउने वातावरण बनाउने ।
· नगरपालिका क्षेत्रबाट बसाइ सरी गरी वा पेशा व्यवसाय सञ्चालन गर्न काठमाडौं वा देशका अन्य सहरहरुमा बसोबास गरी रहेका र विदेशका प्रमुख सहरहरुमा बसोबास गर्ने दाजुभाई दिदी बहिनीहरुबीच सम्पर्क गर्ने र
आवश्यक सेवा वा सहयोग आदान–प्रदान गर्न सम्पर्क समिति स्थापना गर्ने । ती सम्पर्क समितिहरुलाई पर्यटन प्रवद्र्धन गर्न र लगानी प्रवद्र्धन गर्नमा समेत प्रयोग गर्ने ।
· सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थहरु सदुपयोग हुने गरी उद्योगको स्थापना गर्न प्रोत्साहन गर्ने ।
· नगरपालिकाले उठाउने सबै खाले करका दरहरुलाई सकेसम्म न्यून बनाउँदै व्यापार व्यवसाय मैत्री नगर बनाउने । नगरपालिकाले उठाउने करका दरहरु एक महिना भित्र नै पुनरावलोकन गरी उचित प्रगतिशील दर कायम गर्ने ।
भाषा
· नगरपालिका क्षेत्र भित्र शेर्पा र तामाङ भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा विकास गर्न विशेष पहल गर्ने साथै नगरपालिका भित्रका मगर, किराँत, नेवार आदि जनसमुदायको भाषाको संरक्षण र
विकास गर्न आवश्यक कार्यक्रम चलाउने ।
अन्य
· सम्पूर्ण सर्वसाधारण जनताको विचार अनुभवहरुलाई नगरको भौतिक विकास र प्रशासनिक सुदृढिकरणमा सदुपयोग गर्नका लागि बुद्धिजिवीहरु, विभिन्न राजनीतिक दलका अनुभवी व्यक्तित्वहरु, विभिन्न पेशाका अनुभवी व्यक्तिहरु सम्मिलित नगर विकास सुझाव समितिको गठन गर्ने र सो समिति मार्फत सर्वसाधारण जनताको समेत सल्लाह लिने व्यवस्था गर्ने र समितिले दिएका सुझावहरुलाई यथासम्भव कार्यान्वय गर्ने ।
· विभिन्न गैह्रसरकारी संघसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुसँग राम्रो सम्बन्ध र समन्वय गरी नगरपालिकाको विकासको लागि आवश्यक सहकार्य गर्ने ।
· गार्मामा निर्माणाधिन पर्वतीय प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्यका अवरोधहरुलाई समाधान गरी यथाशीघ्र चाँडो सञ्चालन गर्ने व्यवस्था मिलाउने । प्रतिष्ठानको गुरुयोजनालाई समयानुकूल पुनरावलोकन गरी स्थानीय जनताको अधिकतम हितको सुरक्षा गर्न आवश्यक पहल कदमी लिने ।
· नगरपालिकाले सञ्चालन गर्ने सबै विकास आयोजनाहरुको सुरुवात पूर्व स्थानीय जनताहरुलाई शुसुचित गरी स्वतन्त्र रुपमा पूर्व परामर्श र सहमती लिने व्यवस्था कार्यान्वयन गर्ने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology