२१ जेठ,काठमाडौं- संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले कुनै पनि कम्युनिष्ट पार्टीसँग आफूहरुको एकता सम्भव नरहेको बताएका छन् ।
नेकपा र ससफोबीच एकताका लागि वार्ता भइरहेको भन्ने विषय विल्कुल भ्रमपूर्ण प्रचार रहेको उनले प्रष्ट पारे ।
‘हामी अहिले कम्युनिष्ट आन्दोलनको हिस्सा बन्न सक्ने अवस्थामा छैनौ, कुनै पनि कम्युनिष्ट पार्टीहरुसँग हाम्रो एकताको वार्ता हुन सम्भव पनि छैन, वार्ता भएको पनि छैन,’ नेता राईले भने, ‘ससफो र नेकपाबीच एकता वार्ता हुँदैछ भन्ने कुरा विल्कुलै गलत प्रचार हो ।’
नेता राईले आफ्नेा पार्टी आन्दोलनको कार्यनीति अनुसार नै सरकारमा सामेल भएको बताए । समय र परिस्थितिअनुसार सत्तामा जानु र प्रतिपक्षमा बस्नु राजनीतिक कर्तव्य नै भएको उनले बताए ।
‘हामीले हाम्रो लक्ष्य, उद्देश्य र मुद्दा बिर्सेका छैनौ,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधान संशोधन गरेर तपाईहरुले आन्दोलनका क्रममा उठाउनु भएको मुद्दाहरुलाई सम्बोधन गर्न तयार छु र सरकारले निर्णय गरेर सम्बोधन हुने विषयहरुलाई सरकारको निर्णयद्वारा सम्बोधन गर्न तयार छु भन्ने सम्झौतपत्रमा हस्ताक्षर गरिसकेपछि हामी त्यो सम्झौता कार्यान्वय गर्ने सिलसिलामा सरकारमा गएका हौ ।’
उनले आन्दोलनका क्रममा सयौलाई मुद्दा लगाइएको, सयौ आन्दोलनकारीहरु पक्राउ पर्ने डरले भागाभाग भएको, कतिपय घाइतेहरुले हालसम्म राज्यबाट उपचार खर्च नपाएको र केही आन्दोलनकारी जेलमा समेत रहेकाले सरकारबाट निर्णय गरेर यी विषय समाधान गर्ने सम्झौता भएपछि ससफो सरकारमा सहभागी भएको बताए ।
उनले आफ्नेा पार्टी सरकारमा गएर शक्ति सुदृढीकरणमा लागेको समेत बताए । उनले भने, ‘जुन बेला आन्दोलन चढावमा छैन, उतारमा छ, त्यस्तो बेलामा आन्दोलनकारीहरुले सम्झौताको माध्यमबाट आफ्नेा शक्ति सुदृढिकरण गर्ने र आफ्नेा लक्ष्य प्राप्तिलाई सहज बनाउनेतर्फ अगाडि बढ्नका निम्ति तयारी गर्ने समयको रुपमा त्यो समयलाई प्रयोग गर्नुपर्ने हुन्छ ।’
आफ्नेा मुद्दा सम्बोधन नभएसम्म दायाँबायाँ गर्दैनौ, सिधा हिडिरहन्छौ भन्न खोज्नु राजनीतिमा अनुपयुक्त रहेको उनको भनाइ छ ।
‘उद्देश्य प्राप्त गर्नका निम्ति कहिले म्याराथुन दौड, कहिले सय मिटरकोजस्तो दौड दौडनुपर्ने हुन्छ । कहिले ओह्रालो, कहिले उकालो र कहिले काही घुमाउरो बाटो हिड्नुपर्ने हुन्छ जुन आन्दोलनको कार्यनीति नै हो,’ नेता राईले भने, ‘आन्दोलन गरेपछि लक्ष्य प्राप्त नभएसम्म दाँयाबाँया गर्दैनौ, सिधा अगाडि बढिरहन्छौ भन्न खोज्नुचाहिँ सगरमाथाको शिखर चढ्न चाहने तर भर्याङ हिड्न अस्वीकार गर्ने, डोरी समाउन अस्वीकार गर्ने, दाँयाबाँया घुमेर चढ्न इन्कार गर्नेजस्तै हो ।’