समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वयमा विद्यालयमा पाहार ट्रष्ट पोखराले व्यवस्थित पुस्तकालय स्थापना गरिदिएको हो।
पुस्तकालय स्थापनाका लागि बिहीबार पाहार ट्रष्टका अध्यक्ष बिजुली बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ।
२०८१ साल माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम आगामी २०८३ साल पौष मसान्त सम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयकी प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको कामका लागि पाहार ट्रष्टले २४ लाख ७ हजार ९ सय रुपैंया सहयोग गर्ने सम्झौतामा उल्लेख छ।
पाहार ट्रष्टको आयोजना र गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आतिथ्यमा गरिएको पुस्तकालय सञ्चालन अनुशिक्षण कार्यक्रमकै अवसरमा पुस्तकालय स्थापनाको सम्झौता गरिएको हो। हालै मात्र गोर्खा वेलफेयर ट्रष्टद्वारा व्यवस्थित र आकर्षक १२ कोठे भवन निर्माण भएको अवस्थामा पुन पुस्तकालय सहयोग पाउनु गौरवको विषय भएको गाउँपालिका अध्यक्ष राईले बताए।
स्थापना गरिएको व्यवस्थित पुस्तकालयले इसिडिदेखि कक्षा ३ सम्मका बालबालिकालाई कक्षागत पठनकलाको विकास गरी कक्षा १२ सम्मका विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्दै वाह्य अतिरिक्त ज्ञान बढाउन, विद्यार्थी, शिक्षक र समुदायका नागरिकहरुको फुर्सदको समयलाई सदुपयोग गर्न, सूचनाको सेवा प्रवाह गरी विद्यालयको शैक्षिक सुधार गर्न पुस्तकालयले ठूलो सहयोग पुर्याउने अपेक्षा राखिएको छ।
कार्यक्रममा पाहार ट्रष्टका अध्यक्ष गुरुङ सहित पुस्तकालय कार्यक्रमका म्यानेजर बलकाँशी गुरुङ, सुपरभाईजर बिमल नेपाली, मोभिलाईजर लक्ष्मी गुरुङ लगायतको उपस्थितीे थियो। पुस्तकालयमा हाल बालबालिका र विद्यार्थीका लागि विषयवस्तुसँग सम्बन्धी पुस्तकहरु उपलब्ध रहेको छ भने सम्झौता अवधिभर वाह्य ज्ञानका पुस्तकहरु समेत समावेश गरिनेछ।
पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि विद्यालयकी प्रधानाध्यापक सितल राईको अध्यक्षतामा सरीता राई, रमेश कुमार ढकाल, विपिन दाहाल, निश्चल ढकाल, रोमिया राई सदस्य रहेको समिति गठन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology