समायोजन खबर खोटाङ, खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी सामान उठाएर भागेको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर भागेको हो।
पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको हो। लामो समयसम्म अलपत्र बनेको निर्माणस्थलमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको हो। निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन्।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

महुरे राजापानी सडक अन्तर्गत बुईपा पञ्चरेदोबाटो नजिकको धुलाम्मे सडक।
काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ। हालसम्म १४ जना साईड इन्चार्ज परिवर्तन गरिसकेको स्थानीय बताउँछन्। यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन्। कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो।
भारत कन्ट्रक्सन/सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समक्ष मंसिर १६ गतेदेखि पुस १३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए। जेभीले मंसिर १६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, मंसिर २३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस १३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेका थिए। तर आफैले बुझाएको कार्यविवरण कुल्चिएर निर्माण व्यवसायी सामान उठाएर हिँडेका हुन्।
मेयर तीर्थराज भट्टराईले गत कात्तिक ३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगती, मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए। सिद्धी शाही जेभीका मुख्य प्रतिनिधि दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology