• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ : धार्मिकस्थलको महिमा र महत्व बुझाउन पर्यटक गाइड तालिम

हलेसी तुवाचुङ : धार्मिकस्थलको महिमा र महत्व बुझाउन पर्यटक गाइड तालिम


समायोजन खबर
  • बुधबार, पौस २७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा स्थानीय पर्यटक गाइड तालिम सुरु भएको छ। प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसी मन्दिर लगायत नगरपालिका भित्रका धार्मिकस्थलहरुमा आउने तीर्थालु भक्तजन र अतिथिलाई धार्मिकस्थलको महिमा र महत्व बुझाउन तालिम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाण्डौ(नाथम)को सहकार्यमा बुधबारबाट हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुनेछ । तालिममा नगरपालिकाले मंसिर ८ गते प्रकाशन गरेको सूचनाका आधारमा छनौट भएकाहरु सहभागी छन्।

    जस अनुसार ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो। ३१ जनामध्ये तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन्। उनीहरुलाई नाथमका विभागीय प्रमुख अजय कुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संस्कृतविद् डा.लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राईले प्रशिक्षण दिनुहुनेछ।

    गाइड सम्बन्धि कार्यविधि निर्माण गरेर तालिम लिएकाहरुलाई गाइडका रुपमा परिचालन गर्ने नगरपालिकाले जनाएको छ। पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तजनलाई यसको महत्व तथा वास्तविकता भनिने नगरप्रमुख विमला राईले बताउनुभयो।
    ‘विभिन्न धारणाका साथ हलेसी, ताराखसे, तुवाचुङ लगायतका पर्यटकीय स्थललाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ। जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट तालिम सुरु भएको छ । आगामि दिनमा आधिकारीक गाइड हलेसीमा हुनेछन्।’ मेयर राईले भन्नुभयो।

    धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। हलेसीमा शिव लिंग, पापद्धार, कर्मद्धार, जन्मद्धार, धर्मद्धार, पार्वती थान, विष्णुलक्ष्मी, वासुकी नाग, महादेवगुफा, भैरवगुफा, बसाहा गुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन्।

    हलेसीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरुले आ–आफ्नै तरीकाले पूजापाठ गर्ने गर्छन। हिन्दु धर्मावलम्बीहरुले पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजाआजा गर्ने गरेका छन।

    हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै इतिहास रहेको जानकारहरु बताउँछन्। सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्नको लागि तालिम सुरु गरेको बताइएको छ। तालिमको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइ लगायतको उपस्थिति रहेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology