समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कात्तिकेमा मनग्गे रुपमा कपास खेती फस्टाउँदै गएको छ। हलेसी तुवाचुङ नगरपालिकाको अनुदानबाट दुईवर्ष अघिबाट सुरु भएको कपास खेती अहिले रहर लाग्दो रुपमा फस्टाउँदै गएको हो।
महादेवस्थानस्थित साविकको ६ र ९ नम्बर वडामा करीब ६० घर परिवारले ८० रोपनी जग्गामा कपास खेती गरिएको छ। त्यहाँको कपास खेतीलाई निरन्तरता दिनकै लागि चालु आर्थिक वर्षमा पनि नगरपालिकाले २० लाख बजेट पनि बिनियोजन गरेको छ। कपास उत्पादन गरेर स्थानीयले सिरानी, डस्ना, सिरक, लाखबत्ती बनाउने गरेका छन्।
पुर्खाको पालामा यस क्षेत्रका धेरै स्थानमा कपास खेती हुने गरेको थियो। कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको पुर्खाहरुको भनाइ छ। लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण/प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व भएकाले बजेट बिनियोजन गरेरै कपास खेतीलाई निरन्तरता दिईएको मेयर बिमला राईले बताउनुभयो।
कात्तिकेमा कपास टिप्दै स्थानीय महिलाहरु, साथमा मेयर बिमला राई।
‘म नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो। सुरुमा विभिन्न समुहमार्फत थोरै जग्गामा कपास खेती सुरु गरेका थियौ। अहिले करीब ८० रोपनी जग्गामा कपास खेती भइरहेको छ।’ मेयर राईले भन्नुभयो, पछिल्लो समय रोजगारी गर्न धेरै मानिसहरु बिदेश जान्छन्, तर हाम्रो पुर्खौली पेसाबाट पनि हामीले जिविको पार्जन गर्न सक्छौँ भन्ने सोचले पुर्खौली पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउन कपास खेतीलाई प्राथमिकता दिएका हौ।
सुरुमा कपास खेती गर्न नजान्दा रोग लागेर समस्या भएपनि अहिले सहज भएको कपास खेती गरिरहनुभएका गंगा राईले बताउनुभयो। कपास उत्पादन गरेर सिरानी, डस्ना, सिरक लगायतका समाग्री बनाइरहेको जुना राईले बताउनुभयो। बिस्तारै खाँडीको कपडा बुन्ने योजना रहेको उहाँहरुको भनाइ छ। नगरपालिकाले पनि खाँडीको कपडा बुन्ने तालिम आयोजना गर्ने योजना बनाएको मेयर राईले जानकारी दिनुभयो।
उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनेर दौरासुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री गर्दै आएको स्थानीय जुनासरी राईले बताउनुभयो। त्रि–धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउनुहुन्छ। स्थानीयले जति कपास उत्पादन गरे पनि मन्दिरमा पुजाआजका सामाग्री निर्माणमा गर्न खपत हुने गिरीको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology