समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ढुकुचु/बगाले/विएण्टी जेभी सिन्धुपाल्चोककोे लफ्याङमा राखिएको एस्काभेटर र ब्याग लोडरमा लगाएको ताला खोलेको छ।
जिल्ला अस्पताल चोकदेखि लफ्याङ सडकखण्डको दुवेछिवा खेलमैदानसम्म ३७ सय मिटर सडक ग्राभेलको अलपत्र कामलाई निरन्तरता दिने भनि ठेकेदारले नगरपालिकासँग कबुलियतनामा गरेपछि शनिबार ताला खोलिएको हो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, नगर प्रवक्ता तथा लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलका वडाध्यक्ष नवराज राई लफ्याङ पुगेर ताला खोलेका हुन्।
नगरभित्र सञ्चालित योजना अलपत्र पारी अन्तै मेशिनरी औजार लान खोजेपछि ठेकेदारको मेसिनमा नगरपालिकाले २० कार्तिकमा तालाबन्दी गरिदिएको थियो।
सडकको काम गरिरहेका तीन निर्माण कम्पनीमध्ये बगाले थापा कन्ट्रक्सनका प्रतिनिधि कुमार भण्डारी र विएनटी निर्माण सेवाका प्रतिनिधि मोहन श्रेष्ठले शुक्रबार मेयर तीर्थराज भट्टराई समक्ष कबुलियतनामा गरी हस्ताक्षर र औठाछाप गरेको थियो।
कबुलियतनामा गरेकै मितिबाट सडकको कटिङ, नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने कामलाई अगाडी बढाउने र बाँकी काम मंसिर १० गतेबाट कुनै पनि हालतमा तिव्र गतिमा काम गर्ने भनिए पनि समय अभावका कारण त्यसको भोलिपल्ट मात्रै मेसिनमा लगाईएको ताला खोलिएको हो।
जेभीले २०७९ पुस २८ गतेमा सडक ग्राभेलको काम सक्ने गरी २०७८ जेठ २० गते सडक डिभिजन कार्यालय ओखलढुंगासँग भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा सम्झौता गरेको थियो। 
विभिन्न सरकारी कार्यालयको वजेटबाट नगरपालिकाभित्र सञ्चालित १७ वटा योजनाहरु अलपत्र परेपछि नगरपालिकाले ३ असोजमा पत्रकार सम्मेलन गरेर उक्त योजना सञ्चालन गरिरहेका निर्माण व्यवसायी तथा कम्पनीलाई ३५ दिनभित्र नगरसँग सम्पर्क गरी हालसम्म भएको कामको विवरण बुझाउन अल्टिमेटम दिएको थियो। विवरण बुझाउन तोकिएको १७ दिन वित्दा उक्त जेभीले विवरण बुझाउनुको सट्टा निर्माणस्थलबाट उल्टै मेशिनरी सामान लैजान खोजेको थियो।
नगरभित्र सञ्चालित अन्य १६ वटा योजनाले पनि ३५ दिनभित्र प्रगति विवरण नबुझाएमा र उक्त समयभित्र काम पुनः सुचारु नगरेमा निर्माण व्यवसायीहरुलाई कानून बमोजिमको हदैसम्मको कारवाहीको लागि नियमक निकायमा शिफारिस गरिने मेयर भट्टराईले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology