चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारस्थित रत्नपार्कमा निर्माण भएको सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेनपार्कको जग्गा नेपाल बाल मन्दिरको नामका रहेको खुलासा भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन नगरप्रमुख दिपनारायण रिजालको कार्यकालमा निर्माण गरिएको संरचना नगरपालिकाको नाममा जग्गा नामसारी नगरी अर्कैको जग्गामा बनेको पाईएको हो।
साविक दिक्तेल वडा नं.४ साविक कित्ता नम्बर ११६४ क्षेत्रफलमा नेपाल बाल मन्दिरको नाममा रहेको ‘एक रोपनी सात आना तीन पैसा दुई दाम’ एकलौटी जग्गामा अनुमति विना नगरपालिकाले व्यापारिक भवन तथा बालबालिकाहरुको खेलमैदान निर्माण गरेको भन्दै २३ साउनमा नेपाल बाल संगठन केन्द्रीय कार्यालय नक्सालले जग्गा अतिक्रमण रोक्का गर्न नगरपालिकालाई पत्रचार गरेको छ।
रत्नपार्कको सपीङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क।
अनुमति बिना नगरपालिकाले व्यापारिक भवन तथा बालबालिकाहरुको खेलमैदान निर्माण गरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भए पश्चात नगरपालिकालाई कानुन विपरीत गरिएको कार्य रोक्का गर्नका लागि पत्रचार गरिएको र हालसम्म पनि उक्त पत्रको प्रति उत्तर प्राप्त नभएपछि मन्दिरको जग्गा यथाशिघ्र फिर्ता गर्न नगरपालिकालाई पत्रचार गरिएको नेपाल बाल संगठनका प्रमुख कार्यकारी अधिकृत अजय कुमार शाहले लेखेको पत्रमा भनिएको छ।
के कति कारणले अनाथ बालबालिकाको जग्गामा जनप्रतिनिधिमुलक संस्थाले विना अनुमति व्यवसायिक भवन बनाई भाडा समेत लगाएर अनाधिकृत प्रयोग गरेको हो? यथाशिघ्र बाल मन्दिरको जग्गा फिर्ता गरि सहयोग गरिदिनहुन अनुरोध छ। पत्रमा भनिएको छ।
जग्गा फिर्ता गर्न भनि लेखिएको पत्रमा नेपाल बाल संगठन केन्द्रीय कार्य समिति अध्यक्ष, महासचिव, प्रशासन विभाग र जिल्ला प्रशासन कार्यालय खोटाङलाई बोधार्थ राखिएको छ। जिल्ला मालपोत कार्यालयमा अभिलेख हेर्दा संरचना बनेको जग्गा अहिले पनि बाल मन्दिरकैे नाममा रहेको छ।
सामान्य रुपमा जग्गा पास गरेर आफ्नोमा नामसारी गरेर संरचना बनाईने तथा भोगचलन गर्ने प्रचलन छ। तर, जग्गा त अहिले पनि बाल मन्दिरकै नाममा छ। मालपोत कार्यालयका एक अधिकारीले भने, ‘यो त अचम्म भो। जग्गा धनीले चाहे जे पनि गर्न सक्छ। संरचना भत्काउन पनि सक्छ।’
पर्यटन मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ८० लाख ८४ हजार ७५१ रुपैयाँमा उमा–लामा–अन्सुबी जेभीले सपीङ कम्प्लेक्स सहितको चिल्ड्रेनपार्क निर्माण गरेको थियो । सपीङ कम्प्लेक्सका लागि बनाईएको भवनको पहिलो तलामा १४ वटा सटरमध्ये अहिले केही भाडामा सञ्चालन भईरहेको छ। माथिल्लो तलामा ‐६ वटा सटर बराबरको) एकवटा रेष्टुरेन्ट हल र स्टलका लागि ५ वटा कोठा रहेको छ । माथिल्लो तलाको पछाडी खुल्ला जमिनमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ।
३ फागुनमा तत्कालिन मेयर रिजालले उद्घाटन गरेको उक्त संरचना अन्तर्गत चिल्ड्रेनपार्कको पछाडीको टेवा पर्खाल चार महिनामै सामान्य वर्षाले दबिएर चिराचिरा हुंदै स्वीमिङ पुल र अन्य संरचना पनि भाँसिएको छ। निर्माण भएको चार महिनामै संरचना काम नलाग्ने गरी चर्कीएपछि ११ असारमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने लगायतले अनुगमन गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology