समायोजन खबर खोटाङ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले पहिरोबाट बिस्थापित परिवारलाई राहत वितरण गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा साबालुङ र खरबारीका पहिरोबाट बिस्थापित परिवार र पहिरो पिडितलाई राहत वितरण गरिएको हो।
पहिरोबाट पूर्णरुपमा बिस्थापित भएपछि त्रिपाल टाँगेर घर नजिकै खेतबारीमा बसिरहेका साबालुङका रामिरा राई, जीत बहादुर राई, कर्ण बहादुर राई, भिम बहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई सोमबार जालपाको वडा कार्यालयमा राहत वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिए।
वजिमयका अनुसार बिस्थापित नौ परिवारलाई जनही त्रिपाल १ थान, कम्बल २ थान, भाँडा सेट १ सेट, बुट्टे कपडा ८ मिटर, कपडा सेट १ थान, बाल्टिन १ थान, सारि २ थान, डोरी, सुटिङ कपडा र घ्यु रंगको कपडा १/१ थान तथा हाइजेनिक किट १ सेट प्रदान गरिएको छ। यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मंसिरी राई, पुरीमाया राई, वलराम राई र पर्शुराम राईलाई १/१ थान त्रिपाल वितरण गरिएको छ।
पहिरोबाट बिस्थापित परिवार र पहिरो पिडित परिवारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, प्रहरी नायब उपरीक्षक उमेश लम्साल, रेडक्रसका सभापति ज्ञानेन्द्र जोशी, रेडक्रसका मन्त्री वजिमय, जालपाका वडाध्यक्ष दान बहादुर राईले राहत सामग्री वितरण गरेका थिए।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले पहिरोबाट बिस्थापित नौ परिवारलाई प्रति परिवार २० हजार र सामान्य क्षति पुगेका चार परिवारलाई जनही पाँच हजारका दरले राहत दिईने घोषणा गर्नुभयो। वजेट खर्चका लागि दायित्व प्राप्त भएपछि बिस्थापित परिवारलाई उक्त रकम वितरण गरिने मेयर भट्टराईले बताए।
१७ असारमा आएको लगातारको वर्षाका कारण पहिरो गएपछि जालपा साबालुङ र खरबारीका नौ परिवार पहिरोबाट पूर्ण बिस्थापित र चार घरमा सामान्य क्षति पुगेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology