समायोजन खबर खोटाङ, १३ औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई खोटाङमा सम्मान गरिएको छ। किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा मंगलबार नगदसहित सम्मान गरिएको हो।
दिक्तेलस्थित बहुउद्देश्य कबर्ड हलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण पदक, कास्य पदक, रजत पदक विजेता, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही दश हजार र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको किरात राई खेलकुद संघले जनाएको छ।
१३ औं साग प्रतियोगितामा तेक्वान्दोमा स्वर्ण पदक जितेका सुशिला राई(सुनसरी), उसुमा कास्य पदक जितेका अशोक खालिङ राई(ईलाम), स्क्वासमा कास्य पदक जितेका भावना सुनुवार(रामेछाप), आर्चरीका टिम व्यवस्थापक मिना कुमारी रञ्जु(उदयपुर), बक्सिङका टिम व्यवस्थापक प्रमिला राई(झापा) र १२ औं साग प्रतियोगितामा कबड्डीमा कास्य पदक जितेका सम्झना राई(बारा)लाई नगद सहित सम्मान गरेको हो।
यस्तै, मुआईथाई वल्ड च्याम्पियन सन्जय राईलाई पनि दश हजार नगद र सम्मान पत्र प्रदान गरिएको छ। तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईको पहलमा खोटाङ समाज बेलायत र किरात राई यायोक्खा बेलायतले संयुक्त रुपमा किरात राई खेलकुद संघको अधिवेशनका अवसरमा खेलाडीहरुको उच्च प्रशंसा गर्दै सम्मान गरेका हो। सागका विजेता अन्य खेलाडीहरुलाई भने नयाँ कार्य समितिले काठमाण्डौमा नगदसहित सम्मान गर्ने राईले बताए।
सम्मानका लागि बारादेखि खोटाङसम्म आएकी सम्झाना राईलाई भने तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राईले ब्यक्तिगत रुपमा १० हजारले सम्मान गरेका छन्। विजेता खेलाडीहरुलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राई, तेक्वान्दो ग्राण्ड मास्टर तथा सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राईले नगद र सम्मान पत्र प्रदान गरेका थिए।
महाधिवेशनको अवसरमा १३ औं सागमा स्वर्ण पदक विजेता ३ जना, कास्य पदक विजेता ९ जना, रजत पदक विजेता १४ जना, प्रशिक्षक २ जना र टिम व्यवस्थापक २ जना सहित ३० जनालाई सम्मान गर्ने लक्ष्य रहेकामा ४ जना खेलाडी र २ जना टिम व्यवस्थापकलाई मात्रै यहाँ सम्मान गरिएको किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र कुमार राईले बताए।
राईका अनुसार सागका अन्य विजेता खेलाडी एसियन क्याम्पको बन्द प्रशिक्षण र विदेशमा भएकाले काठमाण्डौमै नयाँ कार्य समितिले नगदसहित सम्मान गर्नेछ। कार्यक्रममा अन्य विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology