• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी मन्दिरको भेटी ३/३ दिनमा गणना गरिने

हलेसी मन्दिरको भेटी ३/३ दिनमा गणना गरिने


समायोजन खबर
  • शनिबार, असार ११ २०७९

  • फाईल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी मन्दिरको भेटीघाटी ३/३ दिनमा गणना गरिने भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिरको भेटीघाटीलाई थप व्यवस्थित र पारदर्शी बनाउन ३/३ दिनमा गणना गरेर सार्वजनिक गरिने भएको हो।

    शनिबार हलेसी मन्दिर ब्यस्थापन समितिको भवनमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि र हलेसी विकास समितिका प्रतिनिधिको उपस्थितिमा भएको वैठकले जेठ, असार, साउन, भदौमा हप्तामा १ पटक र अन्य महिनाहरुमा ३/३ दिनमा भेटीघाटी गणना गर्ने निर्णय गरेको जनाईएको छ।

    यसअघि भक्तालु तथा दर्शनार्थीले मन्दिरमा चढाएको नेपाली रुपैयाँ, भारु, अमेरिकी डलर, सुन, चाँदी, गहनालाई १८/२० दिनमा गनेर सार्वजनिक गर्ने र माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गर्ने गरिएको थियो। तर, त्यसलाई पनि अझै व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले आठ महिनामा ३/३ दिन र चार महिना हप्ता दिनमा १ पटक भेटी गणना गरेर सार्वजनिक गर्ने निर्णय गराईएको मेयर राईले बताउनुभयो।

    भेटीघाटीलाई दुरुपयोग हुन नदिन नगरपालिकाले जडान गरेको १४ वटा सीसी क्यामेरालाई २४ सैं घण्टा चालू राख्न, थप चार वटा सीसी क्यामेरा जडान गर्न र बिहानैबाट हलेसी सूचना केन्द्रको कार्यालय खोल्न मेयर राईले सम्बन्धित पक्षहरुलाई निर्देशन दिनुभएको छ। यसअघि जडान गरिएको सीसी क्यामेरामध्ये २ वटामा समस्या आएकाले मर्मतको भईरहेको र थप चार वटा क्यामेरा आजै(शनिबार)बाट जडानको काम भईरहेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।

    मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ।

    संकलन भएको भेटी गणनाका लागि सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक/एक जना प्रतिनिधि राखिने गरेको मेयर राईले बताउनुभयो। भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology