समायोजन खबर खोटाङ,खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदिमाथि अस्थायी बेलिब्रिज जडान गरिएको छ। सुनकोशी नदिमा पानीको बहाव कम भएपछि राज्यको लाखौं रकम खर्चेर यातायात सञ्चालनका निम्ति ५० मिटर लामो बेलिब्रिज जडान गरिएको हो।
गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने सुनकोशी नदिमाथि रेग्मी–भानुमति–चौधरी जेभिले सडक विभागको ७८ लाख बजेटमा बिहीबार बेलिब्रिज जडान गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताउनुभयो। खकुरेलका अनुसार बर्खा लागेपछि पानीको बहाव बढेपछि सोही जेभिले पुनः बेलिब्रिज फुकाल्नेछ।
सडक विभागले वर्षैपिच्छे साउन भदौमा टेण्डर आव्हान गरेर बेलिब्रिज जडान गर्ने र खोल्ने गर्दा राज्यको करोडौ रकम खर्च भईरहेको छ। गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको थियो। दिक्तेलबाट उदयपुर हुंदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने सुनकोशी नदिको फोक्सिङटारमा ९ वर्षअघि मोटरेबल पुलको ठेक्का लागे पनि ठेकेदारको चरम लापारबाहीले पुल नबन्दा बेलिब्रिज जडान गर्नुपर्ने बाध्यता छ।
बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट गाईघाट, उदयपुर हुंदै तराईसम्मको यातायात सेवा सञ्चालन हुन्छ भने, ६ महिना बन्द हुन्छ। बेलिब्रिज निकालेपछि घुर्मी–कटारी–मिर्चैया हुंदै तराई जानुपर्ने बाध्यता छ।
सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा पार्वती–वाईपी जेभिले सुनकोशी नदिमाथि १ सय २० मिटर लामो आर्च ब्रिज डिजाईनको मोटरेबल पुल निर्माण नगरेपछि सवारीसाधनलाई कोशी वारपार गर्न नदिमा पानी घटेपछि बेलिब्रिज राख्ने र पानी बढेपछि फुकाल्ने गरिदै आएको छ।
ठेकेदारले पुलको कामै गरेन
९ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभिले पुलको काम सन्तोषजनक नगरी लथालिङग पारेको छ। गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमाना सुनकोशी नदिस्थित फोक्सिङटारमा १ सय २० मिटर लामो आर्च ब्रिज डिजाइन पुल लथालिङग पारेका हुन्।
लथालिङग छोडिएको आर्च ब्रिज पुल। तस्विर सौजन्य:खेमराज राईबाट।
जेभिले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन। पहिलो म्याद गुजारेको जेभिले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेर पनि काम गरेन। अहिले कोभिड कारण देखाउँदै २०७८ चैत ३० गतेसम्म प्रस्तावित म्याद थप गरेको छ। तर, स्वीकृत भएको छैन।
कोभिडको बहाना र कन्ट्रयाक्टरको लापारबाहीले पुलको कामै नभएको पुलको काम हेर्दै आएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका ईन्जिनियर अजय कुमार शाहले बताउनुभयो। ३/४ पटक डिजानई रिभ्युका लागि निर्माण व्यावसयाीलाई पत्राचार ग¥र्यो, डिजाईन रिभ्यु रिपोर्ट दिएन। शाहले भन्नुभयो, ‘डिजाईन रिभ्यु रिपोर्ट पनि बुझाएन, काम पनि गरेन। साईडमा मान्छे पनि छैन।’
४ वर्षमा सक्नुपर्ने पुलको काम ९ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै छ। ७/८ दिनयता साईडमा राम्रो काम भईरहेको र जमिनको अफ्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भईरहेको पार्वती–वाईपी जेभिका आधिकारीक प्रतिनिधि रामकुमार थापाले दाबि गर्नुभयो। बिचको आर्च ब्रिचको ढलान बाँकी रहेको छ। ४०/४५ दिनमा आर्चको फर्मा सेटिङ हुन्छ। थापाले भन्नुभयो, ‘बढीमा तीन महिनामा ढलान सक्छौ र पुलमा गाडी गुडाउँछौ।’
गाईघाट–दिक्तेल सकडखण्डको हालत उस्तै
गाईघाट–दिक्तेल सकडखण्ड (खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे फोक्सिङटार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला महुरेसम्म ४८ किलोमिटर) सडकको हालत पनि पुलको जस्तै छ।
निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचेले खोटाङतर्फ राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्म २६ किलोमिटर र भारत कन्ट्रक्सन/सिद्धिसाईले महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको भए पनि कामको प्रगति ज्यादै न्युन तथा दुबै खण्डमा कालोपत्रेको काम गुणस्तरहिन र चरम ढिलासुस्ती छ।
महुरे–(राजापानी)सिमपानी सडक ।
काम नगरेपछि भारत कन्ट्रक्सन/सिद्धिसाई जेभीको साढे ६ करोड बैंक धरौटी तानिएको छ। भने, ६७ लाख व्याज पनि असुली गरिएको छ। देवनारायण पवन/मैनाचुली/खाम्पाचेलाई सकेसम्म काम गराउने प्रयास भईरहेको र भारत कन्ट्रक्सन/सिद्धिसाईले साईडमा क्रसर मेसिन राखेको, जाली, पाईप झारेको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख खकुरेलले बताउनुभयो।
मैनाचुली/खाम्पाचेका प्रतिनिधि मदन अधिकारी र सिद्धिसाईका प्रतिनिधि विनोद बोहोरासँग कामको प्रगति बुझ्न सम्पर्क गर्दा दुबैजना फोन उठाउँदैनन्। कोभिडका कारण राज्यले २०७८ चैत मसान्तसम्म याद थप भएको भएता पनि निर्माण व्यावसायीले काम गरेको देखिन्दैन।
निर्माण व्यावसायीले सडक कालोपत्रे नगर्दा यात्रुहरुले सकस झेल्नु परेको छ। हिउँदमा उक्त सडकमा बुङबुङती धुलो उड्ने गर्छ भने बर्खामा हिलाम्मे हुने गर्छ। हिउँदमा बुङबुङती धुलो उड्दा सडक आसपासका डाले घाँसहरु बस्तुभाउँलाई खुवाउनै नहुने भएको स्थानीयहरु बताउँछन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology