समायोजन खबर खोटाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत खोटाङका २३ जना सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धि कार्यविधि अनुसार उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरुवात भएको यस कार्यक्रम अन्तर्गत हालसम्म २३ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया मन्दिरा विक, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी २२ वर्षीया अनिता राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी २५ वर्षीया सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २८ वर्षीया एलिना कार्कीको उद्धार गरिएको हो।
खोटेहाङ गाउँपालिका–३ सवाकटहरेकी १७ वर्षीया विमामाया विक, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३६ वर्षीया वविता राई, केपिलासगढी गाउँपालिका–७ सुङदेलकी १९ वर्षीया रमिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २८ वर्षीया रेणुका वन गिरी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रबिता राई, खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीकी २३ वर्षीया विष्णु राई खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाकी २४ वर्षीया शान्ता कटवाल, साकेला गाउँपालिका–४ मात्तिमकी २५ वर्षीया सरस्वती कटवाल र जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयकी २७ वर्षीया शिव कुमारी सापकोटाको उद्धार गरिएको छ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २८ वर्षीया निलम राई, ३४ वर्षीया देवी खत्री, दिक्तेलका १९ वर्षीया तारा राई, दिक्तेलका २३ वर्षीया दीपा आचार्य, दिक्तेलका २४ वर्षीया मेनुका खड्का, दिक्तेल सोल्माका ३० वर्षीया सान्ता विक, ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलका २९ वर्षीया मोनिका राई, साकेला गाउँपालिका–५ मात्तिमका २४ वर्षीया सुनिता राई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका १९ वर्षीया हिरा राय र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
दिक्तेलबजारको हेलिप्याड, ऐसेलुखर्क, चिसापानी लगायतका स्थानवाट उद्धार गरिएका गर्भवती तथा सुत्केरी महिलाहरुको प्रसुती गृह थापाथली र कोशी अस्पताल बिराटनगरमा उपचार भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी १९ वर्षीया जुनकला राईको उद्धारमा हेलिकोप्टर आउन नसकेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी १९ वर्षीया सिर्जना विकको उद्धारका लागि हेलिकोप्टर आए पनि मौसम खराबका कारण उद्धार हुन नसकेको र उनको जिल्ला अस्पतालमा सफल उपचार भएको प्रशासनले जनाएको छ। विकको उद्धारमा आएको हेलिकोप्टर मौसम खराबका कारण उड्न नसकेपछि जिल्लामै १ दिन होल्ड भएको थियो।
लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्याधिक रक्तश्राव भएमा, रक्तअल्पता भएमा, वर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अचानक आमाको अवस्था असामान्य भएर अत्याधिक रक्तश्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा जिल्ला अस्पतालको शिफारिसका आधारमा स्थानीय प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अघि बढाएर हेलिकोप्टर झिकाउने गरेको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको स्थानीयहरुको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology