समायोजन खबर खोटाङ,नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा खोटाङ कांग्रेसका नेताहरु टिम वनाउनमा र क्षेत्रिय प्रतिनिधि फकाउनमा व्यस्त देखिएका छन्।
आउँदो ३ मंसिरमा हुने क्षेत्रिय अधिवेशन तथा ६ मंसिरमा हुने सातौ जिल्ला अधिवेशनका लागि मोटामोटी चार टिम तयार भएपछि सभापतिका उम्मेद्वारी बाहेक अन्य पदाधिकारी मिलाउन र प्रतिनिधि फकाउनमा नेता तथा कार्यकर्ताहरुलाई चटारो छ।
महासमिति सदस्य तथा पूर्व पार्टी सभापति विष्णुकुमार राई, पूर्व राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि तथा हालको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले सभापतिको उम्मेद्वारी घोषणा गरेपछि उनीहरु पदाधिकारी मिलाउन र क्षेत्रिय प्रतिनिधि फकाउनमा लागेका छन्।
सभापतिका उम्मेद्वारी घोषणा गरेका तथा आकाङक्षी चारै जना नेताहरुलाई यतिवेला टिम बनाउने र प्रतिनिधि फकाउने चटारोले भात न पानी छ । टिम मिलाउने मामलामा विष्णु कुमारलाई केही सन्चो छ । उनले अन्य छ जना पदाधिकारी, दुबै क्षेत्रिय सभापतिका उम्मेद्वारी मिलाईसकेका छन् । यतिवेला विष्णु प्रतिनिधिको घरघरमा पुग्ने र फकाउनेमा व्यस्त छन्।
विष्णुले हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, क्षेत्र नं. २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उपसभापतिमा, हालको पार्टी सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई सचिवमा तथा वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जारा र सार्जन राईलाई सह सचिवमा उठाउने घोषणा गरेका छन् । क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा राजेन्द्र राई र क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा दिनेश कुमार घिमिरेलाई तयारी बनाईएको छ।
पूर्व राज्यमन्त्री राईको पनि टिम फाईनल हुन बाँकी देखिन्छ। राईको उपसभापतिमा मनोज तिम्सिना, सचिव रोजन राई, सह–सचिव ध्यान बहादुर राई फाईनल भएको श्रोत बताउँछ। एक उपसभापति, एक सचिव, एक सह–सचिव र क्षेत्र नं. २ को क्षेत्रिय सभापतिका लागि छलफल भइरहेको छ। क्षेत्र नं. १ का क्षेत्रिय सभापतिमा भक्तजंग राईले सभापतिमा उम्मेद्वारी दिने भएका छन्।
महासमिति सदस्य रवि प्रकाशले पनि जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अन्य पदाधिकारी तयारी भएको र छिट्टै सार्वजनिक गरिने राई बताउँछन्।
महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईको पनि टिम पूरा हुन वाँकी छ। राईको समूहको उपसभापतिमा चन्द्र बहादुर थापा, सचिव श्याम राई, सह–सचिवमा ध्यान बहादुर राई छन् । एक उपसभापति, एक सचिव र एक सह–सचिव छनोट गर्न बाँकी छ।
यस्तै, राईको टिमवाट प्रदेश क्षेत्र ‘ख’ सभापतिका उम्मेद्वार चण्डी कुमार राईको सम्पूर्ण कार्य समिति र प्रदेश अधिवेशन प्रतिनिधि तयार भएको छ । प्रदेश क्षेत्र ‘क’ सभापतिमा उम्मेद्वारी तोकिएको छैन।
चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि अहिले सभापतिका आकाङक्षी लगायत अन्य नेताहरु क्षेत्रिय प्रतिनिधि भेट्न, फकाउन र भोट माग्नमा व्यस्त देखिन्छन्। तर, क्षेत्रिय प्रतिनिधिहरु भोट माग्दैमा नदिने र सक्षम, पार्टीलाई स्पीडमा हाँक्न सक्ने, गुट उपगुटलाई चिर्ने नेतालाई मात्रै भोट दिने बताउँछन्।
अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धा भन्दा कडा प्रतिस्पर्धा भईरहेको कांग्रेसका नेताहरु बताउँछन् । आफ्नै भित्रकासँग संघर्ष गरेजस्तै अन्य पार्टीसँग संघर्ष गरे कांग्रेस कहिल्यै दोश्रो पार्टी नहुने धेरैको बुझाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology