समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी खोटाङले केपिलासगढी गाउँपालिकामा युवा सङ्घ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ। केपी ओली नेतृत्वको नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवा सङ्घ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो।
नव गठित दुवै कमिटीका पदाधिकारीलाई नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव जलशेर राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। नव गठित कमिटीका पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै पार्टीका जिल्ला सचिव राईले अब जिल्लाका सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठनहरु गठन गरेर पार्टीका गतिविधि अगाडि बढाउने बताउनुभएको छ।
नेकपा एकीकृत समाजवादी खोटाङका सचिवालय सदस्य एवम् युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राई, युवा सङ्घका जिल्ला अध्यक्ष पवन श्रेष्ठ लगायतको उपस्थितिमा गठन गरिएको कमिटीका पदाधिकारीले दुई घण्टा बाक्सिला बजारको सरसफाई समेत गरेको छ। हरेक महिनाको दुई दिन दुई घण्टा ‘मेरो राष्ट्रका लागि’ अभियान सञ्चालन गर्ने सङ्गठनको केन्द्रीय नीति अनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने युवा तथा खेलकुद विभाग प्रमुख राईले बताउनुभयो।
सरकारले अध्यादेश ल्याएसँगै एमाले विभाजन भएर केन्द्रमा नेपाल नेतृत्वको नेकपा (समाजवादी) गठन गरेर आधिकारिकता नपाउँदै जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले पार्टी कमिटी गठनको काम शुरु गरेको छ । केन्द्रमा औपचारिक रुपले पार्टी विभाजन भएलगत्तै जिल्लामा बसेको जिल्ला कमिटीको बैठकले नेताहरुबीच औपचारिक रुपमा कार्य विभाजन गरेर सबै स्थानीय तहमा पार्टी कमिटी तथा भातृ सङ्गठन निर्माणको काम शुरु गरिएको जिल्ला सचिव राईले बताउनुभयो।
यसअघि सोही केपिलासगढी गाउँपालिका–१ फेदीमा नेकपा एमालेले गत शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एकै गाउँका १६८ जना प्रवेश गरेको जनाएको थियो। नेपाली कांग्रेसका गाउँपालिका उपसभापति, नेकपा (माओवादी केन्द्र) खार्तम्छाका प्रमुख लगायत एउटै गाउँका १६८ जना एमालेमा प्रवेश गरेको एमालेका सचिवालय सदस्य एवम् केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्ण राईले बताउनुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology