डा.राजकुमार राई, शिक्षण पेशा भनेको मानिसभित्र भएको अज्ञानतालाई हटाएर ज्ञानको ज्योति दिने माध्यम हो । यो पेशामा मानिसले आफूले प्राप्त गरेको ज्ञान बुद्धि अरूलाई सार्दछन् । शिक्षण पेशा गर्ने व्यक्तिलाई शिक्षक भनिन्छ । शिक्षकले आफ्ना शिष्यहरूलाई विषयगत र व्यावहारिक ज्ञान, सीप र असल आचरणका बारेमा सिकाउछन् । शिक्षकले आफ्ना विद्यार्थीहरूलाई नैतिकताको पाठ सिकाउने भएकाले उनीहरू नैतिकताको धनी मानिन्छन् । उनीहरूले अरूलाई ज्ञान, अर्ति र बुद्धि दिने हुनाले शिक्षकले झुटो बोल्न र नराम्रा व्यवहार गर्न अशोभनीय हुन्छ । शिक्षकले जहिल्यै आफ्ना विद्यार्थीलाई असल कुरामात्र सिकाउने भएकाले उनीहरू समाजमा ज्यादै मर्यादित हुन्छन् ।
शिक्षण मानव जीवनमा सबैभन्दा पुरानो र मर्यादित पेशा हो । पुरानो जमाना जुनबेला अहिलेको जस्तो औपचारिक शिक्षण संस्थाहरू जस्तै स् स्कुल, कलेज नभएको बेलामा मानिसहरू गुरुकुलमा गएर शिक्षा लिन्थे । त्यो भनेको अहिलेका आवाशीय विद्यालयमै बसेर विद्यार्थीहरूले शिक्षा लिएको सरह हो । पहिलाको गुरुकुलमा धेरै सुविधा हुँदैनथे भने अहिलेका आवाशीय विद्यालय सुविधा सम्पन्न हुन्छन् ।
शिक्षण कार्यलाई डाक्टर, वकिल, नर्स, इन्जिनियर र पाइलटजस्तै पेशाको रूपमा लिइन्छ । किनकि डाक्टर, वकिल, नर्स, इन्जिनियर र पाइलटलाई जस्तै शिक्षक बन्न विषयगत योग्यता, अनुभव र शिक्षण अनुमति पत्र चाहिन्छ । शिक्षण पेशा भनेको विज्ञान र कलाको समिश्रण हो । शिक्षकमा हुनुपर्ने विषयगत ज्ञान र सीपलाई विज्ञानको रूपमा लिइन्छ भने उसले विद्यार्थीलाई आफूसित आकर्षित गरेर सिकाउने तरिकालाई कला भनिन्छ । एउटा प्रभावशाली शिक्षकमा निम्न कलाहरू जस्तै स् राम्रो हस्त लेखन, राम्रो चित्र बनाउने, रोचक ढंगले विषयवस्तुको प्रस्तुति गर्ने, बीचबीचमा चुट्किला, कथा आदि भनेर रमाइलो वातावरण बनाउने आदि हुन्छन् । त्यसकारण एउटा प्रभावकारी शिक्षक बन्न उसमा विज्ञान र कला दुवै हुनुपर्छ ।
शिक्षण पेशाप्रति धेरै मानिसहरूको आकर्षण त्यति भएको पाइँदैन अर्थात् यो पेशा धेरै मानिसका लागि रुचिको पेशा होइन । धेरै कम मानिसहरूमात्र आफ्नो इच्छा वा रहरले शिक्षक बनेका हुन्छन् र धेरैजसो शिक्षकहरू बाध्यता वा अञ्जानबस यो पेशामा आएका हुन्छन् । तर, जे जसरी शिक्षक बनेको भए पनि शिक्षक बनिसकेपछि उसले आफ्नो पेशाप्रति इमानदार भएर आफ्नो पेशाको धर्म निभाउनुपर्दछ, आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।
शिक्षकहरूले आफ्नो शिक्षण पेशामा गर्ने लगावको आधारमा उनीहरूलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ । जस्तै स् जन्मजात शिक्षक, सिकेर बन्ने शिक्षक र बाध्यकारी शिक्षक । जन्मजात शिक्षकहरू शिक्षक बन्न नै जन्मेका जस्ता हुन्छन् । उनीहरू आफ्नो पेशाप्रति ज्यादै उत्प्रेरित हुन्छन् । उनीहरू आफ्ना विद्यार्थीलगायत जो सुकै विद्यार्थीहरूलाई सिकाउन जहिल्यै रमाइलो मान्छन् । सिकेर बनेका शिक्षकहरू आफ्नो पेशालाई आदर, माया गर्छन् । आफ्नो पेशाबाट दिक्दार हुँदैनन् । आफू उत्प्रेरित हुँदै विद्यार्थीलाई पनि सकेसम्म राम्रो सिकाउन प्रयास गर्छन् । बाध्यकारी शिक्षकहरू भनेको यो पेशामा रुचि नहुँदा नहुँदै बाध्यतावस शिक्षक बनेका शिक्षकहरू पर्दछन् जसले गर्दा उनीहरू त्यति प्रभावकारी शिक्षक बन्न सक्दैनन् ।
शिक्षण पेशा अन्य पेशाभन्दा धेरै फरक छ । प्रथमतः अन्य पेशाहरूमा एउटै सेवाग्राहीसँग पटकपटक काम परिरहँदैन । तर, शिक्षण पेशामा शिक्षक र उनै सेवाग्राहीहरू अर्थात् विद्यार्थीहरूसँग लामो समयसम्मसँगै हुन्छन् । त्यसैले शिक्षकको विद्यार्थीहरूप्रति लामो समयसम्म जिम्मेवारी रहन्छ । दोस्रो, अरू जागिरमा भन्दा शिक्षण पेशामा बढी जिम्मेवारी हुन्छ । अरू जागिरमा करारनामामा उल्लेख भएका कामको विवरणअनुसार कर्तव्य गरे पुग्छ । तर, शिक्षण पेशामा करारनामामा उल्लेख भएअनुसार विद्यार्थीलाई सिकाएर र परीक्षा लिएरमात्र हुँदैन । तीबाहेक उसको नैतिक र सामाजिक जिम्मेवारी उत्तिकै छ ।
शिक्षकले जथाभावी धूमपान, मध्यपान गरेको समाजले राम्रो मान्दैन । अरू पेशाका जागिरेहरूलाई आफ्नो कार्यालयको समयपछि यी कार्य गर्न छुट छ । शिक्षकको आचरण विचरण असल हुनुपर्छ । कुनै–कुनै विद्यार्थी पढ्न अल्छी गर्छन्, विद्यालयमा बदमासी गर्छन् । शिक्षकले ती विद्यार्थीहरूलाई पढाउँदिन भन्न मिल्दैन । ती विद्यार्थीहरूलाई असल विद्यार्थी बनाउन हरसम्भव प्रयास गर्नुपर्छ । तेस्रो, शिक्षकले सिकाउने कार्यबाहेक अन्य विभिन्न भूमिका ९उत्प्रेरक, परामर्शदाता, अविभावक, नेता, प्रेरणाको स्रोत, डिसिप्लिन इन्चार्ज आदि० निर्वाह गर्नुपर्ने हुन्छ ।
नेपाली समाजमा शिक्षण पेशालाई त्यति धेरै महत्व दिएको पाइँदैन । किनकि यो पेशामा अरू पेशामा जस्तो कमाइ र सुविधा हुँदैन । समाजमा हरेक मानिसलाई उसको कमाइसितमात्र तुलना गरिन्छ जुन एकदमै गलत मान्यता हो । कतिपय शिक्षकहरू यही मान्यताले गर्दा आफूले आफूलाई तुच्छ सम्झिरहेका हुन्छन् । उनीहरू आफ्नो पेशाप्रति गर्व गर्न सकिरहेका हुँदैनन् । वास्तवमा भन्ने हो भने शिक्षण पेशा भनेको अति विशिष्ट र मर्यादित पेशा हो । शिक्षण पेशा भनेको स्वाभिमानी पेशा हो । यो पेशामा कसैले पनि औंलो ठड्याउँन सक्दैन ।
यदि कुनै शिक्षक यो पेशामा रमाउन सक्दैन वा उसमा यो पेशाप्रति खासै रुचि हुँदैन भने उसले शिक्षण पेशा छोडेर अन्य पेशा अँगालेको राम्रो हुन्छ । यसो नगर्दा ऊ स्वयं र विद्यार्थीहरूलाई अन्याय भइरहेको हुन्छ । उसले आफ्नो अमूल्य समय खेर फालेर आफ्नो प्रगतिका सबै ढोकाहरू बन्द गरेर निस्सासिएर जिन्दगी चलाइरहेको हुन्छ । यदि कसैले शिक्षण पेशालाई कमाइसित दाँज्छ भने ऊ कहिल्यै खुशी बन्न सक्दैन ।
शिक्षण ज्यादै महŒवपूर्ण र जिम्मेवार पेशा हो । यो पेशाले व्यक्तिलाई मात्र होइन पूरै समाजलाई असल बनाउछ । शिक्षकले विद्यार्थीहरूलाई बाँच्नका लागि ज्ञान र सीपमात्र नदिएर समाजका लागि पनि एउटा सभ्य नागरिक बनाउँछ । मानिसहरू भन्ने गर्छन्, ‘एउटा डाक्टर खराब भयो भने केही बिरामीलाई असर पर्छ । एउटा इन्जिनियर खराब भयो भने एउटा पुल वा घर भत्किन सक्छ । तर, शिक्षक खराब भयो भने पूरै समाज र त्यो धेरै नयाँ पिँढीहरूसम्म असर पर्नसक्छ ।’ वास्तवमा शिक्षकले राम्रोसित आफ्नो भूमिका निर्बाह गर्न सकेनन् भने समाजमा हुने विभिन्न किसिमका खराब प्रवृत्तिका बेइमानहरू उत्पादन हुन्छन् जसले गर्दा पूरै समाज असभ्य भई बस्न लायक हुँदैन।हिमालय टाईम्सबाट।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology