समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५लफ्याङमा सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगितालाई आर्थिक सहयोग जुट्न थालेको छ । आगामी फागुन १० गतेदेखी १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आर्थिक सहयोग जुट्न थालेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजानमा मझुवागढी रणजितमान राई खेलमैदानमा हुने प्रतियोगिताका लागि प्रथम पुरस्कार र सेमिफाइनलिस्ट पुरस्कार सहयोग स्वरुप जुटेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कार (१ लाख ५५ हजार) लफ्याङ घर भइ काठमाण्डौ ताल्चीखेलमा वसोवास गर्दै आउनुभएका क्याप्टेन जगतराम राईले सहयोग गर्नुभएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए ।
यस्तै, सेमिफाइनलिस्ट दुई टिमका लागि (३१/३१ हजार) लफ्याङ घर भई काठमाण्डौ वसोवास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व तथा व्यवसायी मदन राई र लफ्याङ घर भई सिंगापुर प्रहरीमा कार्यरत सुखराज राईले सहयोग गर्नुभएको छ ।
दोश्रो पुरस्कारका लागि पनि सहयोगीदाता भेटिसकेको र दाताको परिचय केही समयमै घोषणा गरिने जनाइएको छ । यस्तै, पूर्व खेलाडी मविन राईको स्मृतीमा मविनका दिदी भगवती चाम्लिङले ५ हजार ५ सय सहयोग गरेको वडाध्यक्ष राईले बताए ।
प्रतियोगितामा प्रथम टिमले १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार, सेमिफाइनलिस्ट दुई टिमले ३१/३१ हजार नगद पुरस्कार पाउनेछ । उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५/५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता उद्घाटनका दिन जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई नगद ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गरिने नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले बताए । राईका अनुसार एक टिममा ९ जना खेलाडी, ४ जना अतिरिक्त खेलाडी, १/१ जना प्रशिक्षक र व्यवस्थापक हुनुपर्नेछ ।
प्रतियोगितामा ३ जना वाह्य खेलाडी सहभागि गराउन पाइनेछ । ५ फागुनसम्म टिम दर्ता गरिने र ६ फागुनमा खेल तालिका सार्वजनिक गरिनेछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology