समायोजन खबर खोटाङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मङ्सिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेकोे ठहरसमेत गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र उजागर गरेको’ आरोप लगाएको छ ।
‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपछि कुनै पनि निर्णय भएको या गरिने दुवै स्थिति’ काँग्रेसलाई मान्य नहुने जनाउँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस संसदीय दल कार्यसमिति बैठक यही पुस ३ गते बोलाउने निर्णय गरेको छ ।
गत मङ्सिर २९ को देशव्यापी प्रदर्शनले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहार, कोभिड–१९ विरुद्ध सरकारको कामकारवाहीविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उहाँले बताउनुभयो ।
बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न, गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको छ ।२०७७ पुस १ गते साँझ ७ :२२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology