समायोजन खबर काठमाण्डाै, नेपालमा बिहीबार एकैदिन थप एक सय ५६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ देखि ४२ वर्षका २५ जना पुरुषमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबै झापाका रहेको मन्त्रालयले जनाएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका एक जना पुरुषमा कोरोना भेटिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि हुनेमा धनुषाकी चार वर्षीया बालिका र आठ वर्षीय बालकसहित २९ जना रहेका छन् । त्यस्तै महोत्तरीका १७ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका तीन जनामा पनि सङ्क्रमण भेटिएको छ । त्यस्तै सप्तरीका १२ जना, सर्लाहीका सात जना, सिरहाका ६ जना, दोलखाका दुई जना र सोलुखुम्बुका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।त्यस्तै प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण भेटिएको छ । सुर्खेतका १३ जना, दैलेखका आठ र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एक जना बोल्न नसक्ने महिलामा सङ्क्रमण भएको जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको कोरोना रिपाेर्ट पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरी तीन जनामा सङ्क्रमण भेटिएको छ ।
किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा सङ्क्रमण पाइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका तीन र बाँकेका एक जनामा सङ्क्रमण भेटिएकाे छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अब नेपालमा काेराेना सङ्क्रमतिको सङ्ख्या एक हजार ४२ पुगेको छ । नेपालमा ५१ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार नारायणी अस्पतालबाट २७ देखि ३२ वर्षका पर्साका चार जना डिस्चार्ज भएका थिए । योसँगै निको हुनेको सङ्ख्या एक सय ८७ पुगेको छ । नेपालमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२०७७ जेठ १५ गते साँझ ६ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology