समायोजन खबर खोटाङ,
जिल्ला प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष विभिन्न अपराधिक क्रियाकलापमा संलग्न १४४ जना प्रतिवादीमध्ये १३२ जनालाई पक्राउ गरेको जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गर्दै प्रहरीले गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घट्नामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई वाल सुधारगृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छुटेको र १४ जना विरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।
जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षभित्र १३० वटा मुद्धा दर्ता भएकामा ७५ वटा मुद्धा फस्र्यौट गरेको जनाएको छ । दर्ता भएकामध्ये ५० वटा मुद्धा फस्र्यौट गर्न बाँकी रहेको डिएसपी गौतमले बताए । चालु अवस्थामा ५ वटा मुद्धामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्धा ४४ वटा र प्रतिवादी फरार भएका मुद्धा ४ वटा रहेको जानकारी दिइएको छ ।
चालु आर्थिक वर्ष अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा एक सय जरिवाना र २० वर्ष ४ महिना कैंद भुक्तान भएको डिएसपी गौतमले बताए । यस अवधिमा १८६ वटा ठाडो निवेदन परेकामा १६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्धाको काम बाँकी रहेको जानकारी दिइएको छ ।
प्रहरीको ६ यूनिट विस्तार
चालु आर्थिक वर्षभित्रै खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरीचौकी र एक विमान सुरक्षागार्ड स्थापना, स्तरबृद्धि एबं स्थानान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरीचौकी खार्पा, प्रहरीचौकी हरमटार, प्रहरीचौकी दुर्छिम, प्रहरीचौकी यासोलाटार र बिमान सुरक्षागार्ड थामखर्कको स्थापना एबं स्तरबृद्धि गरिएको डिएसपी गौतमले जानकारी दिए ।
३१ जना वेपत्ता
यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन् । ४२ जना महिला, ८ जना पुरुष, १२ बालिका र ३ बालक गरी ६५ जना हराएकामा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । हराएकामध्ये २१ महिला, ३ पुरुष, ८ बालिका र २ बालक फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता भएका भनिएकामध्ये अधिकांश दोश्रो विवाह गरेर जाने महिला रहेको डिएसपी गौतमले बताए । ‘सम्पर्क विहिन भएपछि हरायो भनेर प्रहरीलाई खबर गर्छन्, तर भेटियो भनेर जानकारी दिँदैनन्,’ डिएसपी गौतमले भने, ‘अंशमा दावी नगरोस् भनेर दोश्रो विवाह गर्ने महिला विरुद्ध बढि यस्ता वेपत्ताको उजुरी परेको पाइएको छ ।’
२०७६ पौष २६ गते साँझ ६ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology