समायोजन खबर काठमाडौं,
मंसिर १० गतेदेखि अस्पतालमा उपचाररत रहेका प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमै रहने भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरी मिर्गौलाको नियमित डाइलासिससमेत गराइरहेका ओली हाल चिकित्सकको निगरानीमै स्वास्थ्यलाभ गरिरहेको बताइएको छ । उनी उपचाररत अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा. उत्तमकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठले जनाएअनुसार प्रधानमन्त्री ओलीलाई चिकित्सकीय अवलोकनमा राखिएको छ ।
सामान्यतया एपेन्डिसाइटिसको शल्यक्रियापछि २–३ दिनभित्र अस्पतालबाट डिस्चार्ज हुने भए पनि प्रधानमन्त्री ओलीको पेटमा संक्रमण हुनका साथै मिर्गौलाको समेत समस्या एकसाथ भएकाले अस्पतालमै बसेर स्वास्थ्यलाभ गर्नुपरेको स्रोत बताउँछ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, उपचार प्रक्रियाबारे पारदर्शी ढंगले सूचना प्रवाह नगरिएकै कारण पछिल्लो समय अनेक अफवाहसमेत फैलिन थालेको छ । परिणामस्वरूप प्रधानमन्त्री ओलीले मंसिर १६ गते भिडियो सन्देश जारी गरेर आफू स्वस्थ्य रहेको प्रमाण दिए ।
यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएअनुसार प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नेछन् । प्रधानमन्त्री ओली कतिन्जेल अस्पतालमा रहने भन्ने प्रष्ट खुलाइएको छैन । मिर्गौलाको समस्याबाट पीडित प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने वा डायलासिस विधिलाई नै निरन्तरता दिने भन्नेबारे कुनै निर्णय भइसकेको छैन । बुधबार नेकपाको सचिवालय बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएअनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणसम्बन्धमा कुनै निर्णय भइसकेको छैन । मिर्गौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिसको प्रक्रिया जारी रहेको र त्यसपछिको उपचार प्रक्रिया के हुने भन्ने कुरा चिकित्सकहरूको सल्लाह अनुसार हुने उनले बताए ।
२०७६ मंसिर १९ गते मध्यान्ह १२:४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology