समायोजन खबर सोलुखुम्बु,
तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धन तथा पर्यटन बर्ष सन् २०२० लाई समेत लक्षित आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ को पुरुषतर्फको उपाधी नेपाली धावक दावा शेर्पाले जितेका छन् । उनी निर्धारित ३१० मिलोमिटरको दूरी २९ घण्टा ३३ मिनेटमा पार गर्दै प्रथम भएका हुन् । सोलुदुधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको रेस आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा बिहीबार समापन गरिएको हो ।
रेसमा निर्धारित दुरी ३४ घण्टा ४५ मिनेटमा पार गर्दै फ्रेन्च नागरिक मार्क द्धितीय र ३६ घण्टा ३२ मिनेटमा दुरी पार गर्दै पेम्बा शेर्पा तृतीय भएका छन् । त्यस्तै, महिलातर्फ ४३ घण्टा ३० मिनेटमा दुरी पार गर्दै ल्हमू शेर्पा प्रथम भएकी छिन् भने ४९ घण्टा ४५ मा दुरी पार गर्दै मिङमारल्हेमी शेर्पा द्धितीय र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दुरी पार गर्दै पासाङल्हमू शेर्पा तृतीय भएकी छिन् । फाप्लुमा आयोजित समापन कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा ट्रेल रेसले महत्वपूर्ण भूमिका खेल्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचार प्रसारमा अझै जोड दिनुपर्ने बताए ।
३१० किलोमिटर दूरीको दौड पुरा गर्न धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास, जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुगेर गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुगेका हुन् । ६२ जना विदेसी र पाँच जना नेपाली सहित रेसमा ७७ वर्षका फ्रेन्च नागरिक ज्याक समेत सहभागी थिए । रेसमा फ्रान्स, बेल्जियम, स्वीटजरल्यान्ड लगायतका यूरोपेली देशका धावकहरु सहभागी थिए ।
२०७६ कार्तिक २९ गते दिउँसो ४ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology