समायोजन खबर खोटाङ, खोटाङको दक्षिणी क्षेत्रको प्रमुख नाका बंशिलाघाटमा राखिएको अस्थाई बेलिब्रिज झिक्न सुरु गरिएको छ। वराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमाना सुनकोशी नदीस्थित बंशिलाघाटमा राखिएको बेलिब्रिज बैशाख २७ गतेदेखी झिक्न सुरु गरिएको हो।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८७ लाखमा खरीद भई पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण भएको बेलिब्रिज गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि रौतहटले राख्न र झिक्न ठेक्का पारेको थियो।
५१.८१ मिटर लम्बाई, ४.१ सिंगल लेन चौडाईको बेलिब्रिज राख्न र झिक्नलाई ९९ लाख ९८ हजार ८६८.२५ रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित ५७ लाखमा ठेक्का पारेको हो।
जेठ पहिलो सातासम्म बेलिब्रिज झिक्ने भनिए पनि निरन्तरको वर्षा र नदीमा पानीको वहाव बढेकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बेलिब्रिज झिक्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिनुभयो।
बंशिलाघाटमा संघीय सरकारले पक्की पुलको काम गराए पनि निर्माण व्यवसायीले पुल वर्षौेदेखी अलपत्र पार्दा जिल्लाको दक्षिणी भेगबाट तराई झर्न तथा दैनिक उपभोग्य वस्तु आयात निर्यात गर्न सुनकोशी नदी बाधक बनिरहेको छ।
पक्की पुल नहुँदा पारी चौदण्डीगढी सडकसम्म पुग्न झोलुङगे पुलबाट मोटरसाइकल तार्नुपर्ने बाध्यता छ भने,दैनिक उपभोग्य सामाग्रीहरु झोलुङगे पुलमा प्रयोग हुने ठेलागाडीलाई महंगो भाडा तिरेर वारपार गराइदै आएको छ।
यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदिमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज पनि जेठ १ गतेदेखी खोल्नलाई ठेक्का पारेको आर्यन कन्ट्रक्सन प्रालि उदयपुरलाई बैशाख २५ गते पत्राचार गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology