समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कट्वाल अमेरिकाबाट वडामा नफर्केपछि वडा कार्यालयमा ताला लगाईएको छ। वडाध्यक्ष कट्वाल २०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका गएका थिए।
नौ महिना बित्दा पनि वडाध्यक्ष कट्वाल वडामा नफर्केपछि बुधबार पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको हो।
गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईकै संयोजकत्वमा वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाईएको समितिले वडाध्यक्ष कट्वाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो। तर, वडाध्यक्ष अल्टिमेटम कटेर महिनौ बित्दा पनि वडा नफर्केपछि अन्ततः ताला लगाउन बाध्य भईएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो।
वडाध्यक्ष कट्वाल नहुँदा वडामा जनतालाई दिईने सम्पूर्ण सेवा सुविधादेखि विकास निर्माण लगायत सम्पूर्ण कार्यमा अवरोध पुगिरहेको छ। वडाध्यक्ष नफर्केको विषयमा यसअघि नै निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा निकासका लागि अनुरोध गरिसकिएको छ।
अमेरिका छिरेका वडाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्। उनै माओवादी पार्टीका नेता कार्यकर्ता पनि वडाध्यक्षको विरोधमा ताला लगाउनमा सहभागी भएका थिए। माओवादीसँगै, नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी नेपाल, नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर वडाध्यक्षको विरोध गरेको छ।
वडाध्यक्ष कट्वाल ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए। नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएका कार्यवाहक वडाध्यक्षले दिएको सिफारिश मान्य नहुने भन्दै फर्काइदिएको थियो। त्यसपछि वडाध्यक्ष कट्वालले वडा सदस्य खड्कालाई अवधि तोकेर पुनः बैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए।
सो अवधि सकिएपछि भने वडा सदस्य खड्का कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी लिन अस्वीकार गर्दै गाउँपालिका पुगेका थिए। तर, खड्कालाई २०८१ साउन १७ गतेको कार्यपालिका बैठकले साउन १८ गतेदेखि साउन ३२ गतेसम्म, २०८१ भदौ ४ गतेको कार्यपालिका बैठकले भदौ २० गतेसम्म कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिईएको थियो।
सो म्याद पनि सकिएपछि पुनः २०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले सोही दिनदेखि लागू हुनेगरी उनै ज्येष्ठ सदस्य खड्कालाई एक महिना म्याद थप गरेर कार्यबहाकको जिम्मेवारी दिएको छ।
वडाध्यक्ष कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए। त्यसबेला चार वडा सदस्यलाई १५/१५ दिनको कार्यबाहकको जिम्मेवारी दिएका थिए। श्रोतका अनुसार वडाध्यक्ष कट्वाल दशैंमा पनि वडा नफर्केपछि उनी अमेरिकामै बस्न पिआरको प्रक्रियामा रहेको बताईएको छ।
सर्वदलीय भेला बसेर वडामा ताला लगाएर उक्त भेलाको नेतृत्व गरेकाहरुले गाउँपालिका पुगेर सोही जानकारीको प्रेस विज्ञप्ति गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राईलाई बुझाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology