समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा भएको राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकले उचालेको छ।
बहुउद्देशय कबर्डहल माटिकोरेमा बिहीबार सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, चार रजत, दुई कास्य ल्याएर उपाधि जितेको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन्।
तीन स्वर्ण, दुई रजत, सात कास्य ल्याएर दोश्रो बनेकोे बाग्मती प्रदेशले ५५ हजार ५५५, दुई स्वर्ण, एक रजत, चार कास्य ल्याएर तेश्रो बनेको गण्डकी प्रदेशले ४४ हजार ४४४ र एक स्वर्ण, सात रजत, चार कास्य ल्याएर चौथो बनेको कोशी प्रदेशले २२ हजार २२२ रुपैयाँसहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन्।
सुदुरपश्चिम प्रदेश, मधेश प्रदेशले एक–एक स्वर्ण जित्दा कर्णाली प्रदेश र लुम्बिना प्रदेश स्वर्णबिहीन बनेका थिए।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशकी गरिमा मल्ल र नेपाल खेलकुद प्रतिष्ठान खोटाङका रुरिहाङ दुमि राई उत्कृष्ट खेलाडी भएसँगै जनही २२ हजार २२२ रुपैयाँ र उत्कृष्ट टिम व्यवस्थापन बनेको मधेश प्रदेशले ११ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाएका छन्।
प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतिष्ठानले बैशाख ३१ गतेदेखि ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ गरिरहेको थियो।
महोत्सव अन्तर्गत बैशाख ३१ गते हाफ म्याराथनसहित विभिन्न दौड प्रतियोगिता, जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता, जेष्ठ ६ गते १८ वर्षमूनिको राष्ट्रिय गायन प्रतियोगिता सम्पन्न भएको थियो।
कराते प्रतियोगितासँगै महोत्सव अन्तर्गतका सबै कार्यक्रम समापन भएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology