समायोजन खबर खोटाङ,नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आँठौ जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते दिक्तेलबजारस्थित बहुउेद्दश्य कभर्डहल माटिकोरेमा हुदैछ।
अधिवेशन सम्पन्न गर्न एमालेले मूल आयोजक कमिटी र उप–समितिहरु गठन गरी कार्य विभाजन गरिसकेको छ। २४ चैतमा सम्पूर्ण वडाबाट एकैदिन प्रतिनिधि छनोटको तयारीमा एमाले युद्धस्तरमा लागेको छ।
नविकृत ५ हजार १२७ जना पार्टी सदस्यबाट वडाको २० सदस्यबाट ३ जना प्रतिनिधि तथा २० सदस्यभन्दा माथि ९५ सदस्य बराबर १ जना प्रतिनिधि थप गर्दै लगिनेछ। ९५ सदस्यदेखि माथि जतिसुकै भए पनि प्रत्येक २० सदस्य बराबर १ जना प्रतिनिधि थप गरिने र दलित संगठीत सदस्यहरुलाई पालिका भुगोल मानि प्रत्येक ५ सदस्य बराबर १ प्रतिनिधिको व्यवस्था गरिएको छ।
यसो हुँदा करीव ५५० जना प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन्। यी प्रतिनिधिले नै एमालेको आगामी तीनवर्षे कार्यकाललाई नेतृत्व चयन गर्नेछ। आँठौ जिल्ला अधिवेशनपछि खोटाङ एमालेको नेतृत्व हाक्नलाई वर्तमान अध्यक्ष राम प्रसाद दंगाल र वर्तमान उपाध्यक्ष देव विक्रम राई आकाँक्षी देखिएका छन्। दंगाल र राईलाई अहिले नेता, कार्यकर्ता भेटघाटदेखि फोन घुमाउन भ्याईनभ्याई छ।
वर्तमान अध्यक्ष दंगालले सहमतिमा नेतृत्वको टुंगो लगाइने र सकिँदै नसकिए मात्रै निर्वाचन प्रक्रियामा जाने चैत १३ गतेको पत्रकार सम्मेलनमा बताईसकेको छ। श्रोतका अनुसार दंगाल जसरी पनि अध्यक्ष दो-याउने पक्षमा देखिन्छन्।
वर्तमान उपाध्यक्ष तथा अध्यक्षका आकाँक्षी राईले सबै नेताहरु एकातिर लागे पनि अध्यक्षमा चुनाव लड्ने बताएको श्रोत बताउँछ। सर्वसम्मत भए पनि अध्यक्ष हुन्छु, चुनाव लडेर भए पनि अध्यक्ष हुन्छ। राईले भन्नुभएको छ। श्रोत भन्छ। चैत १३ गतेको पत्रकार सम्मेलनमा राईले आफूले क्लास नदो-याउने बताईसकेका छन्। अध्यक्षमा सहमति भए अन्य पदाधिकारी पनि सहमतिमै टुङग्याईने नत्र निर्वाचनमै जाने राईले अडान राखेका छन्।
श्रोतका अनुसार दंगाललाई एमाले केन्द्रीय सदस्य रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई लगायतको समर्थन छ भने राईलाई एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराई लगायतका केही प्रदेश सदस्यहरुको समर्थन छ। पूर्व पार्टी प्रमुखहरु कर्ण घले, हरि पोखरेल र पूर्वमन्त्री एवंम् कोशी प्रदेश सदस्य पिके राई हाललाई साझा देखिए पनि दंगाललाई समथर्न गर्ने श्रोत बताउँछ।
श्रोत अनुसार उपाध्यक्षमा सचिवालय सदस्य उपिन कुमार राई र वर्तमान सचिव कुमार आचार्यको प्रतिस्पर्धा हुने देखिएको छ। सचिवमा वर्तमान उपसचिव सुरेन्द्र कुमार राई मात्रै आकाँक्षी छन्।
ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष एवंम् सचिवालय सदस्य गिरेन्द्र बहादुर राई, दिक्तेल नगरपालिका नगर इन्चार्ज एवंम् सचिवालय सदस्य कमल ढकाल, खोटेहाङ इन्चार्ज एवंम् सचिवालय सदस्य राजन बन्जारा, गोपी खड्का, दिलचक्र राई, कविता राई, गोमा मगर र जिल्ला सदस्य पुर्णकला तामाङ उपसचिवमा आकाँक्षी छन्।
एमालेका एक नेताले अधिवेशन सहमतिमा भन्दा प्रतिस्पर्धा(चुनाव)हुनु फाइदा हुने बताए। “चुनाव हुनुपर्छ अनि पो कार्यकर्ताले नेता चुन्छ, हार्नेले कमजोरी सुधार्छ। सहमतिमा त हामीजस्ता नेताले कहिले मौका पाउने प्रेसर, सुगर रोगले ग्रस्त पार्ने उमेरमा ?” ती नेताले भने।
एमाले नेताहरु यो अधिवेशन कडा हुने बताईरहेका छन्। ‘सहमति गर्दा पहिलेकै टीम दो-र्याउनुपर्छ। तर, अन्य नेताहरुले पार्टीमा स्पेस पाउँदैन। चुनाव हुँदा अहिलेका केही आकाँक्षी नै ब्याग जाने पनि देखिन्छ।’ ती नेताले भने, “सहमति भन्दा चुनाव नै हुने छाँटकाँट छ।”
अधिवेशन सहमतिमा अथवा चुनावमा जाने र कसले जित्ने संकेत प्रतिनिधि छनोटले निर्धारण गर्ने एक नेताले बताए। वडामा प्रतिनिधि छनोटमा समेत आफ्नो मान्छे ल्याउने र अर्कोको फाल्न रस्साकस्सी हुने उनको भनाई छ।
आँठौ अधिवेशन विशाल भट्टराई भर्सेस उषाकला राई/रमेश पौडेलबीचको हो ? भन्ने प्रश्नमा केन्द्रीय सदस्य उषाकला राईले सबैजना अब्बल भएको र यो र त्यो भन्ने केही नभई पार्टीको आन्तरिक एकता मजबुतका लागि अधिवेशन भएको बताईन्।
विशाल भट्टराई भर्सेस रमेश पौडेल/उषाकला राईबीचको आँठौ अधिवेशन हो ? भन्ने प्रश्नमा केन्द्रीय सदस्य रमेश पौडेलले अधिवेशन कसै भर्सेस नभएर न्यायको पक्ष र मिसन ८४ मा जिल्लाको दश स्थानीय, संघ, प्रदेश जित्ने ध्येयको अधिवेशन भएको बताए। अर्का केन्द्रीय सदस्य खगेन्द्र राईलाई सम्पर्क गर्दा फोन उठेन।
अधिवेशन सहमतिमा गराउन अन्तिमसम्म सम्पूर्ण प्रयास गरिने त्यति गर्दा पनि नभए स्वस्थ्य र मर्यादित प्रकारको मित्रतापूर्ण प्रतिस्पर्धा हुने पोलिटव्युरो सदस्य विशाल भट्टराईले बताए। यो अधिवेशन तपाई भर्सेस रमेश पौडेल/उषाकला राईको हो भन्छन नि भन्ने प्रश्नमा, भट्टराईले कसैसँग लडाई नभएको बताए।
‘कसैसँग मेरो लडाई छैन, एउटै कुरामा मेरो लडाई छ त्यो भनेको खोटाङमा एमाले किल्लाको रुपमा रहनुपर्छ, सधै बलियो रहनुपर्छ, सधै विजयी भावमा अगाडी बढ्नुपर्छ, अपराजित ढंगले अघि बढ्नुपर्छ भन्ने बाहेक अरु केही, कसैसँग लडाई छैन।’ भट्टराईले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology