समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले खोटाङमा होली पर्व शिष्ट, सभ्य र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ।
होलीको बहानामा कसैको इच्छा बिपरीत जबरजस्ती लोला हान्ने, रङ लगाउने, बाटोमा हिड्ने पैदल यात्रुलाई दुःख हैरानी दिने, भाङ, धतुरो, गाँजा, जाँड, रक्सीजस्ता पदार्थ सेवन नगर्न प्रहरीले आग्रह गरेको छ।
होलीको समयमा मादक पदार्थ, लागुऔषध सेवन गरी सवारी सधान नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न, मोटरसाइकल चलाउँदा हेल्मेट लगाउन र सवारी नियम उल्लंघन नगर्न प्रहरीले भनेको छ।
होली पर्वको नाममा सार्वजनिक सडकमा गुड्ने सवारी साधन र यात्रुलाई कुनै पनि किसिमको दुःख हैरानी दिने कार्य नगर्न आग्रह गरिएको छ।
आग्रह गरिए भन्दा विपरीत कार्य गरेमा जो कोहीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा ११८ बमोजिम १ वर्षसम्म कैद, दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र दफा २२४ बमोजिम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ।
चैत ११ गते पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाईदैछ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ।
किन मनाईन्छ होली ?
त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो। हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए। आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन।
त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए। एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) लाई जिम्मा दिएको थियो। दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ।
अर्को एक प्रसंग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ। विकिपिडियाको सहयोगमा।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology