समायोजन खबर खोटाङ,नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली खोटाङ आउनुहुने भएको छ। ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा अध्यक्ष ओली खोटाङ आउने भएका हुन्।
नेकपा एमाले जिल्ला कमिटी खोटाङले बिहीबार शुभदिन होटलमा पत्रकार सम्मेलन गरेर संकल्प यात्रा अन्तर्गत ओली २६ मंसिरमा खोटाङ आउने जानकारी गराउँदै उक्त कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका छन्।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा अन्तर्गत ओली मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा विहान ११ बजे आईपुग्नेछन्। ओलीले हर्कपुरको सभालाई सम्बोधन गरेपछि अपरान्ह ३ बजेदेखि हर्कपुर–हलेसी सडक यात्रा हुनेछ। त्यसपछि हलेसी दर्शन, अवलोकन तथा हलेसीको समग्र विकासका लागि सुझाव संलकन र साँझ ५ः३० बजेदेखि हलेसी–दिक्तेल मध्यपहाडी लोकमार्ग यात्रा गरेर ओली दिक्तेलमा बास बस्ने नेकपा एमाले अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिए।
ओलीले मंसिर २७ गते विहान दिक्तेलमा बुद्धिजीवि, पत्रकार, उद्योगी व्यवसायीसँग सुझाव संकलन गर्नेछन्, विहान ८ बजे प्राविधिकधारको व्यवहारिक शिक्षाको लागि शुभद्रा–मदन फाउण्डेसनले गरेका प्रयासको अवलोकन, १० बजे दोर्पा बुवालुङमा जनतासँग भेटघाट र विकास अवलोकन, बिहान ११ बजे निर्मलीडाँडाको पेलुङमा जनतासँग भेटघाट र मध्यान्ह १२ बजे साकेला गाउँ कमिटीको व्यवस्थापनमा चखेवाभन्ज्याङमा संकल्प यात्रा अभियानका यात्रीहरुलाई सुन्तलाको माला लगाई विदाई गरिनेछ।
संकल्प यात्राका क्रममा हर्कपुर चखेवाभन्ज्याङ, मध्यपहाडी लोकमार्ग सडकखण्डमा पर्ने विभिन्न स्थानका जनसमुदायसँग अन्तरक्रिया, भेटघाट र सुझाव संकलन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ। पार्टी स्थापनाको ७५ औं वर्षगाँठ हिरक महोत्सवको अवसर पारेर अध्यक्ष ओलीले १४ मंसिरबाट बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा गरिरहेका छन्।
मध्यपहाडबाट बसाईसराई तीव्र भईरहेकोमा न्यूनिकरण गर्न, मध्यपहाडमा कृषि क्षेत्रको प्रवद्र्धन गर्न, जलविधुत एवंम् मध्यपहाडको समग्र विकासको गुरुयोजना निर्माणका लागि संकल्प यात्रा तय गरिएको एमालेले जनाएको छ।
संकल्प यात्रालाई सफल बनाउन जिम्मेवारी बाँडफाँड
एमाले अध्यक्ष ओलीको संकल्प यात्रालाई सफल बनाउन एमाले जिल्ला कमिटी खोटाङले विभिन्न कामको जिम्मेवारी बाँडफाँड गरेका छन्। पुष्पलाल स्मृति भवन दिक्तेलमा बुधबार बसेको दशौ पूर्ण वैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनामा जानकारी दिईएको छ।
वैठकले आर्थिक व्यवस्थापन समितिको जिम्मा रमेश पौडेल, कार्यक्रम व्यवस्थापन, अन्य पार्टीसँग समन्वय र पार्टी प्रवेशको तयारी समितिको जिम्मा रामप्रसाद दंगाल, जनपरिचालन समितिको जिम्मा उषाकला राई, आन्तरिक सुरक्षा तथा स्वंयमसेवक परिचालन समिति जिम्मा देवबिक्रम राई, खाना तथा आवास व्यवस्थापन समितिको जिम्मा तेजप्रसाद ढुंगाना र हलेसी खाजा व्यवस्थापन समितिको जिम्मा खडेन्द्र राईलाई दिएको छ।
बुवालुङ खाजा व्यवस्थापन समितिको जिम्मा लिला चौहान, स्थानीय कमिटीको बैठक भेला आयोजक समितिको जिम्मा रामपसाद दंगाल, प्रशासनिक निकायसँग वार्ता समन्वय समितिको जिम्मा कुमार आचार्य, प्रचार, गेट, व्यानर टुल व्यवस्थापको जिम्मा गोपाल आचार्य, अतिथि सत्कार सांस्कृतिक झाँकी व्यवस्थापन समितिको जिम्मा विणादेबी राई, अनुगमन समितिको जिम्मा विशाल भट्टराई र विदाई व्यवस्थापन समिति जिम्मा गोपीकृष्ण खड्कालाई दिईएको एमाले अध्यक्ष दंगालले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology