समायोजन खबर खोटाङ, खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेको भन्दै पीडित बचतकर्ताहरुले दिक्तेलबजारमा दोश्रो पटक विरोध र्याली निकालेको छ। बचतकर्ताहरुको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै बचतकर्ताहरुले बनाएको संघर्ष समितिको नेतृत्वमा दिक्तेलबजारमा शुक्रबार दिउँसो बृहत र्याली निकालेको हो।
सहकारी पीडितहरुको स्थानीय हेलिप्याडबाट सुरु भएको र्याली पूरानो बेशक्याम हुंदै रत्नपार्क, रत्नपार्क–त्रिवेणीचोक हुंदै जिल्ला प्रहरी कार्यालय–जिल्ला अदालत गेट पुगेर पुनः हेलिप्याडमा आएर समापन भएको थियो। बचत जम्मागरी फिर्ता नपाएकाहरुको बाक्लो उपस्थिती भएको र्यालीले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको गेट बाहिर प्रहरी प्रशासन जिन्दावाद, सम्मानित अदालत जिन्दावाद, बचतकर्ताको रकम फिर्ता गर, ठगीमा संलग्नलाई छोड्न पाइन्दैन, लालुपाते सहकारी ऋणीहरु होसियार, बचतकर्ता ढाट्न पाइन्दैन,एउटा मरेर संस्था मर्दैन, कानुनी राज्यको पालना गर, बचतकर्ताले न्याय पाउर्नैैपर्छ, लालुपाते बचतकर्ता एक हौ जस्ता नारा लगाएका थिए।

जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी गर्दै लालुपाते सहकारीका बचतकर्ताहरु।
हेलिप्याडमा पुगेर कोणसभामा परिणत भएको र्यालीलाई बचतकर्ता दुर्गाप्रसाद घिमिरेले सम्बोधन गरेका थिए। सहकारी सञ्चालनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको र छोड्ने प्रपञ्च भईरहेको भन्दै त्यसो भएमा थप चर्को आन्दोलन हुने बताए। बचतकर्ताको पैसा ढिलोचाँडो जसरी पनि फिर्ता हुने घिमिरेले विश्वस्त पारे।
जिल्ला अदालतको गेट बाहिर नाराबाजी गर्दै लालुपाते सहकारीका बचतकर्ताहरु।
बचतकर्ताले आफ्नो साँवा,व्याजसहित पैसा नपाएसम्म विरोध कार्यक्रम निरन्तर हुने बचतकर्ता धनिराम नछुङले बताए। बचत अपचलनमा संलग्न अन्यलाई पनि पक्राउ गरी कानुनी कारबाही गर्दै बचतकर्ताको पैसा छिटोभन्दा छिटो पाउनुपर्ने नछुङ बताउँछन्।
पैसा हिनामिना गरेपछि सहकारी विरुद्ध २०७९ फागुन २ गते सातजनाको नामबाट प्रहरीमा किटानी जाहेरी दिईएको र हाल तिन जना पक्राउ परेको अर्का बचतकर्ता लेखनाथ आचार्यले बताए। आचार्यले मात्रै ५४ लाख सहकारीमा बचत गरेका छन्। बचतकर्ता हरी प्रसाद आचार्यले पनि न्याय नपाएसम्म विरोध कार्यक्रम भईरहने बताए।
२०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हिसाबकिताब लथालिङ्ग छ। अध्यक्षको निधन भएको २९ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरुले दैनिक सहकारीको कार्यालय पुग्छन् तर, कार्यालय बन्द हुन्छ।
२०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन्। ऋणीबाट साँवा ब्याजगरी करीव १० करोड उठ्न बाँकी छ। न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन्। साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने सहकारीले जनाएको छ। 
सहकारीका एकजना पदाधिकारीका अनुसार अध्यक्ष र म्यानेजरले मात्रै कारोवार गरेको देखिन्छ। दिक्तेलको पूरानो बैंकचोकमा अहिले सहकारीको कार्यालय पूर्णरुपमा बन्द छ। सहकारी सञ्चालनमा संलग्न तीन जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ। अदालतबाट म्याद थपगरी पक्राउ परेकाबाट सोधपुछ भईरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाको नाम गोप्य राखिएको छ।
बचतकर्ताहरुले बचत फिर्ताका लागि भन्दै संघर्ष समिति गठन गरेर २०७९ माघ ९ गते पहिलो पटक सहकारी विरुद्ध विरोध र्याली निकालेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology