समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबजारका दुईवटा बसपार्कमा बस तथा जीप अनिवार्य पार्किङ गर्नुपर्ने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको अध्यक्षतामा मंगलबार जिल्ला प्रशासनमा बसेको बैठकले कुनै पनि सार्वजनिक तथा निजी सवारी साधनहरु(ठूला, मझौला र साना) सडकमा पार्किङ नगरी बसपार्कमा अनिवार्य पार्किङ गर्नुपर्ने निर्णय गरेको हो।
बैठकले लामो दुरीका सवारी साधनहरु आचार्य गाउँ बसपार्क र छोटो दुरीका सवारी साधनहरु सोल्मा बसपार्कमा पार्किङ गर्नुपर्ने निर्णय गरेको छ। प्रजिअ सुनारको अध्यक्षतामा यातायात व्यवसायी र अन्य सरोकारवाला निकायसँग बसेको बैठकको निर्णय तीन दिनभित्र कार्यान्वयनमा ल्याउनुपर्ने, नल्याएमा प्रचलित कानुन बमोजिम कारबाही हुन जनाइएको छ।
नियम अनुसार रुट पर्मिट प्राप्त नगरेका र प्रयोजन विपरितका सवारी साधनहरुले अन्य यात्रु बोक्न नपाईने र यात्रु बोकेमा कारबाही गरिने प्रजिअ सुनारले बताए। बैठकले प्रत्येक स्थानीय तहले सार्वजनिक सडकको नियमित रुपमा मर्मत संभार गरि सधैभरी चालु हालतमा राख्नुपर्ने तथा सडकमा भएको अवरोध हटाउन प्रहरी र ट्राफिक प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
यातायात व्यवसायीले सोल्मा र आचार्य गाउँमा बसपार्क हुँदाहुदै बाम्राङको रमितेडाँडादेखी अल्छेढुंगासम्म र रत्नपार्कदेखि भानुचोकसम्मका सडक दायाँबायाँ साना तथा ठूला गाडी पार्किङ गर्दै आएका थिए।

तर, शनिबार राती ८ बजेपछि जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले अव्यवस्थित पार्किङको अनुगमन गरेको थियो। अनुगमनपछि बैठक बसेर बसपार्कमै गाडी लैजाने निर्णय भएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology