समायोजन खबर खोटाङ, नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल–टोलमा विभिन्न सेवासहितको शिविर आयोजना गरिएको छ। शुक्रबार उक्त गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरिएको छ।
शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमित रुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ।
भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सो वडाका वडा सचिव नमी राईले बताईन्। यस वडा भौगोलिक रुपमा ठूलो र विकट भएका कारण टोल–टोलमा शिविर सञ्चालन गर्नु परेको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताए। सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको वडाध्यक्ष राईको भनाई छ।
शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ। त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो/मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ। शनिबार १ नम्बर वडा कार्यालय बाँझे र आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology