चिसाङ शेर्पा खोटाङ,खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाले स्वास्थ्य चौकीहरुमा अझै पनि बर्थिङ सेन्टर(प्रसूति केन्द्र)स्थापना गरेका छैनन्। आमा तथा नवजात शिशु सुरक्षा अन्तर्गत बर्थिङ सेन्टर स्थापना गरि सञ्चालन गर्नु स्थानीय तहको जिम्मेवारी हो। तर, स्थानीय तहले बर्थिङ सेन्टर नबनाउँदा सुत्केरीहरुले नवजात शिशुसँगै आफ्नो ज्यान जोखिममा पारेर घरैमा प्रसूति गराउँन बाध्य छन्। प्रसूति गराउनै लामो दुरी हिडेर जानुपर्ने बाध्यता छ।
जन्तेढुंगा गाउँपालिकाको छ वडामध्ये चार वडामा बर्थिङ सेन्टर छैन। प्राथमिक स्वास्थ्य केन्द्र चिसापनीमा मात्रै वर्थिङ सेन्टर सञ्चालनमा छ। डम्बर्खुशिवालयमा वडाको दुईकोठे भवनमा बर्थिङ सेन्टर बनाएर केही प्रसूति गराईए पनि विविध कारणले चलाउन सकिएको छैन। गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य बहादुर कार्कीका अनुसार डम्बर्खुशिवालयको बर्थिङ सेन्टरलाई अब चाँडै सुचारु गरिनेछ। डम्बर्खुशिवालयमा वडाको भवनमा स्वास्थ्य चौकी र वडाकै छुट्टै दुईकोठे भवनमा बर्थिङ सेन्टर स्थापना गरिएको हो। त्यहाँ स्वास्थ्य चौकीको आफ्नै भवन नै छैन।
कार्कीका अनुसार दिप्लुङ, काहुले, बोपुङको आफ्नै स्वास्थ्य चौकी भवन पनि छैन बर्थिङ सेन्टर पनि छैन। स्वास्थ्य चौकीहरु वडाको भवनमा सञ्चालित छ। देविस्थान स्वास्थ्य चौकीको भवन छ। बर्थिङ सेन्टर छैन। बर्थिङ सेन्टर नहुँदा बोपुङका सुत्केरी भोजपुरको बालाङ्खा र तराई तथा देविस्थानका सुत्केरी उदयपुरको बेल्टार प्रसूति गराउन जान बाध्य छन्।
अहिले डम्बर्खुशिवालय, दिप्लुङ, काहुलेका सुत्केरीहरु प्रसूति गराउन प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी गईरहेका छन्। गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेकाले बर्थिङ सेन्टर आउँजाँउ गर्न केही मात्रामा सहज छ। गर्भवती तथा सुत्केरीले कुनै समस्या भई सम्पर्क गरेमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध छ। सडक पनि नियमित छ। सम्पर्क नहुँदा चाँहि आक्कलझुक्कलले मात्रै घरमै प्रसूति गराउँछन् । स्वास्थ्य संयोजक कार्कीले भने, ‘गाउँपालिकाको बर्थिङ सेन्टरमा प्रसूति गराउने सुत्केरीलाई सरकारले दिने सेवासुविधामा हामीले एक हजार थपेर दिने गरेका छौ।’
बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, साउनेचौर र फाक्टाङ स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर छ। स्वास्थ्य चौकी पौवासेराको आफ्नै भवन छ। तर, कोठा नहुँदा बर्थिङ सेन्टर छैन। मौवाबोटे स्वास्थ्य चौकीको त भवन नै छैन। वडा कार्यालयको माथिल्लो तलामा स्वास्थ्य चौकी सञ्चालित छ । जसका कारण बिरामीलाई आवातजावतमै समस्या छ। मौवाबोटेमा स्वास्थ्य चौकीको भवन आगामी दिनमा बनाउने कुरा भईरहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताए। स्वास्थ्य चौकीको भवन बनिसकेपछि बर्थिङ सेन्टर बनाईने बन्जारा बताउँछन्। बराहपोखरी गाउँपालिकाको पौवासेरा र मौवाबोटेका सुत्केरी महिला छिमेकी जिल्ला भोजपुर र उदयपुरको अस्पतालमा प्रसूति गराउन जान बाध्य छन्।
खोटेहाङ गाउँपालिकाको लिकुवापोखरी, सावाकटहरे, बड्कादियाले, चिप्रिङ, ईन्द्रेणीपोखरी, खोटाङबजार र सिमपानी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालित छ। लिच्कीराम्चेमा तत्कालिन गाविसको भवनमा आधारभूत स्वास्थ्य सेवा केन्द सञ्चालित हुँदा र स्वास्थ्य चौकीकै पूरानो भवनमा स्वास्थ्य चौकी सञ्चालित हुँदा वाप्लुखा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छैन। बन्दै गरेको स्वास्थ्य चौकीको नयाँ भवनमा बर्थिङ सेन्टर बनाईने वाप्लुखाका वडाध्यक्ष दिपेन राईले बताए। राईका अनुसार वाप्लुखाका सुत्केरीहरु प्रसुती गराउन सावाकटहरे, लिकुवापोखरी र भोजपुरको ओख्रे जान्छन्। लिच्कीराम्चेका सुत्केरीहरु प्रसूति गराउन सिमपानी र गाईघाट पुग्छन्।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सातै वडामा बर्थिङ सेन्टर चालू रहेको स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले बताए। साकेला गाउँपालिकाको पाँचै वडाको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर चालू रहेको जनस्वास्थ्य निरिक्षक रिता ढकालले बताईन्। वडा नं. ४ मात्तिममा यसपाली बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याईएको हो। रावाबेशी गाउँपालिकामा छ वडामै मापदण्ड अनुसारको बर्थिङ सेन्टर सञ्चालन भईरहेको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताए।
केपिलासगढी गाउँपालिकाको सातै वडामा मापदण्ड अनुसारको बर्थिङ सेन्टर सञ्चालन भईरहेको छ। ऐसेलुखर्क गाउँपालिकाको सात वडामध्ये ऐसेलुखर्क, राखाबाङदेल, माक्पा र ज्यामिरे स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ। महेश्वरी, जलेश्वरी, बाकाचोल स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नरहेको जनस्वास्थ्य संयोजक रामकाजी नेपालले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुवालुङ, खाल्ले, लफ्याङमा बर्थिङ सेन्टर छैन। लफ्याङमा स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार स्वास्थ्य चौकी भवन नै छैन। हलेसी तुवाचुङ नगरपालिकाको ११ वडामै मापदण्ड अनुसारको बर्थिङ सेन्टर सञ्चालनमा रहेको स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए।
‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम २०७८’ ले दुई घण्टाभित्र सहजरुपमा पुग्न सकिने स्थानहरुको हकमा महिलाहरुलाई आधारभूत आपतकालीन प्रसूति र नवजात हेरचाह(बिईओएनसी)तथा व्यापक आपतकालीन प्रसूति र नवजात हेरचाह(सीईओएनसी) केन्द्रमा प्रसुती हुन प्रोत्साहन गर्ने भनेको छ। तर, जिल्लाको दश स्थानीय तहको अधिकांश स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर नै छैन।
व्यापक आपतकालीन प्रसूति र नवजात हेरचाह(सीईओएनसी) केन्द्रमा सहज रुपमा पुग्न नसकिने स्थानहरुको हकमा स्थानीय तहलाई आधारभूत आपतकालीन प्रसूति र नवजात हेरचाह(बिईओएनसी)केन्द्र स्थापना गर्न प्रोत्साहन गर्ने र ति केन्द्रहरुलाई क्रमशः आधारभूत अस्पतालहरुमा स्तरोन्नति गर्ने र आवश्यकता अनुसार रणनैतिक स्थानहरुमा प्रसूती केन्द्र स्थापना गर्ने,प्रसूति केन्द्रमा गुणस्तरीय सामान्य प्रसूति सेवा दिन सक्ने र समस्याहरुको समयमै पहिचान गरि उपयुक्त व्यवस्थापन र प्रेषण गर्ने व्यवस्था सुनिश्चित गर्न पनि ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम २०७८’मा व्यवस्था छ।
‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम २०७८’ले नै बर्थिङ सेन्टर स्थापना गर्दा पूर्वाधार, औजार, उपकरण तथा मानब श्रोतको सुनिस्चितता गरेर मात्र रणनीतिक स्थानमा बर्थिङ सेन्टर स्थापना गर्न पाईने तथा नयाँ स्थापना हुने बर्थिङ सेन्टरले बर्षमा हिमाली जिल्लामा कम्तीमा १०, पहाडी जिल्लाहरुमा कम्तीमा १५ र तराईका जिल्लाहरुमा कम्तीमा ४० जना प्रसूति गराएको हुनुपर्ने भनेको छ। तर, जिल्लाको स्थानीय तहहरु सुत्केरी र नवजात शिशुको जीवन सुरक्षामा उदासिन र गैरजिम्मेवार देखिन्छन्। उनीहरुलाई बर्थिङ सेन्टर स्थापना गर्नुुपर्छ भन्ने चेत नै छैन।
बर्थिङ सेन्टरमा प्रसूति गराउनाले आमाको ज्यानलाई सुरक्षा हुने, मातृ मृत्युदर घट्ने, सुरक्षित प्रसूति हुने, नवजात शिशुलाई खतरा नहुने, स्वास्थ्यकर्मीले प्रसूति गराउन नसकेमा अन्यन्त्र पठाउन हवाई उद्धार पाउन सहज हुने एकजना स्वास्थ्यकर्मीले बताउँछन्। उनका अनुसार घरमा सुत्केरी गराउँदा जटिलता उत्पन्न भई आमा र शिशुको ज्यान जान सक्ने, संक्रमणको खतरा हुने पाउन सहज हुने अत्याधिक रक्तश्राव हुने संभावना बढ्छ।
बर्थिङ सेन्टरमा प्रसूति गराए वापत पहाडी जिल्लामा दुई हजार यातायात खर्च र चारपटक गर्भवती जाँच खर्च ८०० सरकारले सुत्केरीलाई दिने गरेको छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन आएको महिलामा कुनै किसिमको जटिलता भई अन्य ठाउँमा रिफर गर्नु परेमा एकतर्फी यातायात खर्च दिईदै आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology