चिसाङ शेर्पा खोटाङ, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङमा स्तनपान कक्ष स्थापना गरिएको छ। महिला कर्मचारीहरुले कार्यालय समयमा शिशुलाई दूध खुवाउनका लागि स्तनपान कक्ष स्थापना गरिएको हो।
महिला कर्मचारी तथा कार्यालयमा काम लिएर आउने महिलाहरुले शिशुलाई स्तनपान गराउन र नियमित बनाउन केहीदिन अघिबाट एउटा कोठामा खाट राखेर ओछ्यान लगाई खानेपानी, टेवल र कुर्सीहरु राखेर स्तनपान कक्ष स्थापना गरिएको आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले बताईन्।
सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ मा उल्लेख छ।
खोटेहाङ गाउँपालिकाले बैशाख अन्तिमबाट पालिकाभित्र स्तनपान कक्ष सञ्चालनमा ल्याएको थियो। खोटेहाङपछि आयोगले स्तनपान कक्ष बनाएको हो। अब, राष्ट्रिय वाणिज्य बैंक, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न भनि कार्यालयमै पुगेर आग्रह गरिने उपसचिव दाहालको भनाई छ।
स्तनपान कक्षसँगै आयोगले अपाङगता भएका व्यक्ति/अशक्त तथा ज्येष्ठ नागरिकहरुका लागि कार्यालयबाट गरिने सेवा भुईतलाबाट उपलब्ध गराउन थालेको छ। समायोजन खबरमा २२ साउनमा खोटाङमा एक स्थानीय तह बाहेक कुनैमा छैन स्तनपान कक्ष शिर्षकमा समाचार प्रकाशित भएपछि आयोगले स्तनपान कक्ष बनाएको हो। यस्तै,दलित महिला केन्द्र नेपालद्धारा सञ्चालित शी लिड्स महिला नेतृत्व कार्यक्रमले जिल्लाको आठ गाउँपालिकामा स्तनपान कक्ष बनाउन जोड दिंदै आईरहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेशी गाउँपालिका,ऐसेलुखर्क गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिकाका महिला सदस्यहरुको सञ्जाल निर्माण गरी सञ्जालमाफर्त स्तनपान कक्ष स्थापनामा जोड दिंदै आएको हो।
शी लिड्सले खोटेहाङ गाउँपालिकामा २०७९ चैत्र २५ गते महिला कार्यपालिका सदस्य मिनाकला राईको अध्यक्षतामा बैठक बसाएर स्तनपान कक्ष बनाउने निर्णय कार्यपालिका बैठकमा पेश गरेको थियो। कार्यपालिकाले बैशाख अन्तिममा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology