• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

योजना चारकोठे भवनको,तर भवन बन्यो दुईकोठे मात्रै

योजना चारकोठे भवनको,तर भवन बन्यो दुईकोठे मात्रै


समायोजन खबर
  • बुधबार, साउन १७ २०८०

  • रामपुर प्रावि नेर्पाको ३६ लाखमा बनेको दुईकोठे भवन।

    समायोजन खबर खोटाङ,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रामपुर प्रावि नेर्पामा चारकोठे भवन परेकोमा दुईकोठे भवन मात्रै बनेको पाईएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/२०७९ मा विद्यालय छनौट कार्यक्रम अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित उक्त विद्यालयमा चारकोठे भवन निर्माण गर्नुपर्नेमा दुईकोठे भवन बनाएको पाईएको हो।
    चारकोठे एकतले पक्की भवन निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३६ लाख बजेट स्थानीय तहमा हस्तान्तरण गरि पठाएको थियो । तर, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मनकाजी गुरुङको अध्यक्षतामा २०७९ बैशाख १२ गते बसेको बैठकले उक्त बजेटले मापदण्ड अनुसार चारकोठे भवन बनाउन नसकिने र दुईकोठे भवन बनाउन मिल्ने भए मात्र भवन बनाउने भन्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको भवनको ड्रइङ र डिजाइन नगरपालिकामै फिर्ता दिएको थियो।

    तत्कालिन मेयर दिपनारायण रिजाल,उपमेयर बिणादेबी राई र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकालमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको चारकोठे भवनको ड्रइङ र डिजाइनलाई परिवर्तन गरेर दुईकोठे भवन बनाउन भनेर नगरपालिकाले ड्रइङ र डिजाइन पुनः विद्यालयलाई दिएपछि गएको फागुन अन्तिममा दुईकोठे एकतले भवन निर्माण गरिएको विद्यालय श्रोतले बताएको छ।
    तर, ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले सम्बन्धित विद्यालयको आवश्यकता, स्थानीय तहमा उपलब्ध स्रोत, साधन, भौगोलिक अवस्थितिका आधारमा ड्रइङ र डिजाइन परिमार्जन वा परिवर्तन गर्नुपर्ने भएमा राष्ट्रिय भवन निर्माण संहिता तथा अन्य प्रचलित ऐन, कानुन, मापदण्ड प्रतिकुल नहुने गरी सम्बन्धित तहबाट स्वीकृत गराई परिमार्जन वा परिवर्तन गर्न सकिने भनेको छ । यसरी ड्रइङ र डिजाइन परिवर्तन गर्दा माथि उल्लेखित ड्रइङ र डिजाइन भएको कक्षाकोठाको क्षेत्रफल भन्दा कम क्षेत्रफल भएको कक्षाकोठा डिजाइन गर्न पाइने छैन।’
    तत्कालिन प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले चारकोठे भवनको डिजाइन परिवर्तन गर्न नहुने थाहा हुँदाहुँदै पनि ईन्जिनियरलाई दुई कोठेमा परिमार्जन गर्न लगाएको श्रोत बताउँछ। ३६ लाख बजेटले विद्यालयले चारकोठे बनाउन नसक्ने र नगरपालिकाले दुईकोठेको बनाउन भन्दाभन्दै सम्झौता म्याद सकिने तर, काम नसकिने र बजेट फ्रिज हुने भएपछि आर्थिक वर्ष २०७८/२०७९ को असार मसान्तमा विद्यालयको खातामा पैसा हालेर खाता रोक्का गरिएको थियो।

    गएको चैतमा भवनको फरफारकपछि खाता फुकुवा भएसँगै कामदार लगायतको पैसा वितरण गरिएको श्रोत बताउँछ । सम्झौता र निर्णय तत्कालिन मेयर रिजाल र उपमेयर राईको कार्यकालमा भए पनि फरफारक मेयर तीर्थराज भट्टराई र उपमेयर विसन राईको कार्यकालमा भएको हो। संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार लिखित रुपमा सूचानको हक प्रयोग गरेर नगरपालिकामा उक्त विद्यालय र नगरपालिकाले गरेको सम्झौता, भुक्तानी लगायतको विवरण माग्दा अख्तियारमा उजुरी परेर छानविन भईरहेकाले सूचना तथा जानकारी दिन नमिल्ने नगरपालिकाको कार्यालय सहयोगी कर्ण बहादुर राईले मौखिक जानकारी दिएको छ। नगरपालिकामा सूचना माग गरिएको कपी सुरक्षित रहेको छ।रामपुर प्रावि नेर्पाको ३६ लाखमा बनेको दुईकोठे भवन।

    अख्तियारमा फायल पठाईसकिएकाले छिनोफानो नभएसम्म केही भन्न नसकिने नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताउनुभयो। अनियमितता भएको विषयलाई सम्बन्धित निकायले छानविन गरिरहेको र नगरपालिकाले पनि कानुन बमोजिम आन्तरिक रुपमा छानविन गरिरहेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो। साभार : हिमालय टाइम्स।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology