समायोजन खबर खोटाङ, गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालय खुलेको छ। यो अवधि करीव नौ महिना हो।
आज शनिबार जननायक विपी कोईरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाल तरुण दल जिल्ला कार्य समितिले कांग्रेस उपसभापति इवन राईको प्रमुख आतिथ्यमा विपी स्मृती भवन दिक्तेलमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम आयोजना गरेपछि पार्टी कार्यालय बल्ल खुलेको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यतः प्रदेश ‘क’ र प्रतिनिधिसभातर्फ टिकट वितरणमा गठबन्धनले धोका दिएको भन्दै खोटाङ कांग्रेस विभाजित हुँदा पार्टी कार्यालय लामो समय बन्द थियो भने, पार्टीको गतिविधि शुन्य थियो।
गठबन्धनले प्रदेश ‘क’ मा नेकपा एसका बीरबलकाजी राईलाई टिकट दिएपछि कांग्रेस पार्टी सभापति विष्णु राईसहितको ठूलो पंक्तिले कांग्रेसमा विद्रोह गर्दै प्रदेश ‘क’ का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेललाई सघाएको थियो ।
सभापति राईसहितले स्वतन्त्र उम्मेदवारलाई सघाउने तथा अन्य कांग्रेसी र गठबन्धन घटक दलले गठबन्धनका साझा उम्मेदवार बीरबलकाजीलाई सघाएपछि कांग्रेसभित्र, तुष, तिक्तता र विभाजन देखिएको थियो। फलस्वरुप स्वतन्त्र उम्मेदवार पोखरेल र बीरबलकाजी नै पराजित भए। कांग्रेस र गठबन्धनको झगडाको फाइदा लिदै प्रदेश ‘क’मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले सानदार जित निकालेको थियो।
प्रदेश ‘ख’ मा भने गठबन्धनका साझा उम्मेदवार कांग्रेसका महामन्त्री भुपेन्द्र राई र प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई पासाङले जित निकालेको थियो।
विपी कोईरालाको ४१ औं स्मृति दिवस र तरुण दलको कार्यक्रमले निर्वाचनपछि ताला लागेको पार्टी कार्यालयलाइ खोले पनि कार्यक्रममा बोलेका वक्ताहरुले कांग्रेस पार्टी थिलथिलो भएको बताएका थिए। यो अवस्थामा पार्टी पुग्नु कसको हात रहेको भन्दै नेतृत्वलाई प्रश्न गरेका थिए।
वक्ताहरुको पार्टीप्रतिको जिज्ञासा, प्रश्न तथा खुलदुलीलाई पार्टी सचिव समिर राई र उपसभापति इवन राईले जवाफ दिएका थिए। सचिव राईले कांग्रेसमा एकले अर्काको अस्तित्व स्र्वीकार्ने परिस्थिती बनाउनमा जोड दिनुपर्ने बताए। उपसभापति राईले पार्टीलाई चलायमान बनाउन कांग्रेसका भातृ संस्थालाई एक्टिभ बनाउनुपर्ने बताए । पार्टीको गतिविधिलाई चलायमान बनाउनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको सबैभन्दा महत्वपुर्ण भूमिका हुने उपसभापति राईको भनाई थियो।
कार्यक्रममा सहभागी भएका उपसभापति तीर्थराज भट्टराई भने सरसफाई र बृक्षरोपणपछि औपचारिक कार्यक्रममा केही समय बसेर अस्वस्थका कारण बाहिरिएका थिए। स्मृति दिवसको अवसरमा तरुण दलका अध्यक्ष भिषण राईको अध्यक्षतामा भएको सरसफाई तथा वृक्षरोपण कार्यक्रममा पार्टी कार्यालय परिसर सरसफाई र केही बिरुवा रोपिएको छ। नोट : हिजो प्रकाशित समाचारमा कांग्रेस उपसभापति अस्वस्थका कारण औपचारिक कार्यक्रममा केही समय बसेर बाहिरीएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ। सम्पादक ।
यो पनि पढ्नुहोस, तरुण दल खोटाङको अध्यक्षमा काजीमान राई
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology