समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान कात्तिकेका दुई आमा समुहलाई कपास प्रशोधन गर्ने एकवटा मेशिन हस्तान्तरण गरेको छ।
नगरपालिकाको अनुदानमा दुई वर्षअघिबाट व्यवसायिक रुपमा कपास खेती गर्दै आएका कात्तिकेका जुनतारा आमा समुह र गोदाबारी आमा समुहलाई मंगलबार मेशिन हस्तान्तरण गरेको हो।
कपास प्रसोधन गर्ने मेशिन अनलोड गरिदै।
नगरपालिकाको १४ लाख बजेटमा खरीद गरिएको मेशिन मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत, महादेवस्थानका वडाध्यक्ष कमल गिरीले आमा समुहलाई कपास प्रसोधन गर्न सहज र सरल होस भन्ने लक्ष्यले हस्तान्तरण गर्नुभएको छ।
महादेवस्थानको साविक ६ र ९ वडामा रहेको जुनतारा आमा समुहका ३४ घर परिवार र गोदाबारी आमा समुहका २८ घर परिवाले करीव ८० रोपनी जमिनमा कपास खेती गर्दै आएका छन्। उत्पादित कपासबाट आमा समुहले सिरानी, डस्ना, सिरक, लाखबत्ती र खाडीका कपडा दौरासुरुवाल बुन्दै आए पनि कपासलाई प्रसोधन गर्नै समस्या भएपछि नगरपालिकाले प्रसोधन गर्ने मेशिन हस्तान्तरण गरेको हो। 
मेशिन नहुँदा घण्टौ लगाएर हाते मेशिनबाट कपास प्रसोधन गर्नुपरेको समस्या नगरपालिका समक्ष राखेपछि नगरपालिकाले मेशिन दिएको जुनतारा आमा समुहकी अध्यक्ष अम्बिका राईले बताईन्। राईका अनुुसार अब मेशिनबाट कपास छान्न, धागो बनाउन सहज हुनेछ।
तर, तत्काल मेशिन चलाउन भने चुनौती देखिएको छ। मेशिन सञ्चालनका लागि विधुत व्यवस्थापन र प्राविधिक व्यवस्थापन गर्नुपर्ने देखिएको छ। त्यस विषयमा नगरपालिकाले सोच्नुपर्ने देखिन्छ। मेशिनलाई कात्तिकेमा रहेको जुनतारा आमा समुहको भवनमा राखिएको छ।
हाल कात्तिकेमा उत्पादित कपासबाट जुनसरी राई र उनका नातिनी भबिकला राईले व्यवसायिक रुपमा खाडीका कपाड बुन्दै आएका छन्। उनीहरुले कपासबाट तयार पारेको दौरासुरुवाल प्रतिथान २० हजारमा विक्री हुंदै आएको छ।
त्रि–धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष गिरीले बताए। स्थानीयले उत्पादन गरेको कपास मन्दिरमा पूजाआजका सामाग्री निर्माणमा खपत हुने गिरीको भनाई छ।
मेशिनले आमा समुहको दैनिकी अझ सहज र सरल हुने उपमेयर राउतले बताए। मेशिनको प्रयोगसँगै यसले आमा समुहको आर्थिक आयतन बढाउनमा सहयोग गर्ने मेयर राईले बताईन्।
यसैविच, मेशिन हस्तान्तरणसँगै कात्तिकेमा रहेको जुनतारा आमा समुहको भवनको उद्घाटन पनि गरिएको छ। नगरपालिकाको १३ लाख ८५ हजारमा निर्मित दुईतले पक्की भवनको मेयर राईले ब्यानर बाचन गरेर उद्घाटन गरेकी हुन्।
महादेवस्थान कात्तिके
भवन निर्माणका लागि स्थानीय तुलसी कुमार राई र उनका श्रीमती समला राईले २ आना ६ पैसा जग्गा दान गरेका हुन्। भवनको पहिलो तलामा कपास प्रसोधन गर्ने मेशिन राखिएको र माथिल्लो तलामा आमा समुहको मासिक बैठक, छलफल, घरगाउँमा कार्जेहरुमा प्रयोग गरिने भाडाकुँडा राखिने आमा समुहले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology