समायोजन खबर खोटाङ,जिल्ला मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई शास्ती माथि शास्ती हुने गरेको छ। प्रमुख नहुँदा मालपोतमा नामसारी, संशोधन लगायत अर्धन्यायीक काम कारबाही भएको छैन । हाल राजिनामा, दृष्टिबन्दक, बकसपत्र जस्ता सामान्य कामहरु मात्र भइरहेका छन्।
जग्गा नामसारी गर्न टाढाबाट आएका सेवाग्राहीहरु करीब १० दिनदेखि दिक्तेलमा कार्यालय प्रमुख कुरेर बस्न बाध्य भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भई झापा बस्दै आएका मनिकुमार राई मालपोतमा काम गर्न २ बैशाखमा जिल्ला आए।
बुवाको निधनपछि गाउँको जग्गा आमाको नाममा नामसारी गर्न ९ दिन अघि जिल्ला आएका राई मालपोतमा कार्यालय प्रमुख नहुँदा त्यतिकै बस्न बाध्य बनेका छन्। पूरानो प्रमुख सरुवा भएको र नयाँ प्रमुख चाँडै आउने कार्यालयका कर्मचारीबाट आश्वसन पाएका राई हाकिम कुरेर बसेका छन्।
अर्का सेवाग्राही निमातेम्मा शेर्पा पनि आमाको नामको जग्गा आफ्नो नाममा नामसारी गर्न वैशाख ३ गते जिल्ल आएको बताउँछन्। तर, कार्यालय प्रमुख नहुँदा शास्ती खेप्नु परेको उनको गुनासो छ।
आज, भोली भन्दा भन्दै एक साता कुर्दा पनि काम नबनेको शेर्पाको भनाइ छ। दैनिक सेवाग्राहीको भिड लाग्ने मालपोत कार्यालय लामो समयसम्म प्रमुख बिहिन हुनु राज्यको ठुलो लापारबाही भएको शेर्पा बताउँछन्।
निवर्तमान कार्यालय प्रमुख धर्मराज आचार्य २९ चैतमा सरुवा भएर खोटाङबाट विदा भएका छन्। आचार्यको स्थानमा भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोजपुर जिल्ला मालपोत कार्यालय प्रमुखमा कार्यरत रविन मगरलाई खोटाङ पठाएको पाइएको छ। मालपोत कार्यालय खोटाङमा नयाँ कार्यालय प्रमुख आउने भन्दै विभागले वैशाख ४ गते पत्रसमेत पठाएको छ। तर खोटाङ सरुवा भएका मगर हालसम्म कार्यालयमा उपस्थित भएका छैनन्।
निमित्त कार्यालय प्रमुखको जिम्मा पाएका जगत श्रेष्ठले मालपोत कार्यालय खोटाङ सम्हाली रहेका छन्। तर, श्रेष्ठलाई विभागले निमित्त मात्रै दिएको पूरा अख्तियारी नदिएको कारण नामसारी, नाम संसोधन, अर्धन्यायिक लगायतका महत्वपुर्ण कामहरु भएका छैनन्। निमित्तले अख्तियारी नपाउदा र नयाँ कार्यालय प्रमुख नआउँदा दैनिक सेवाग्राहीहरु निराश हुँदै फर्किने गरेका छन्। जिल्लामै बसोबास गर्नेहरु घर फर्किए पनि जिल्ला बाहिर टाढाबाट आएका सेवाग्राहीहरु कार्यालय प्रमुखलाई पर्खिएर दिक्तेलमै बस्न बाध्य छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology