समायोजन खबर खोटाङ, खोटाङमा कतिपय सवारी साधन बाटोको इजाजत नलिइ सञ्चालन गर्ने गरिएको पाइएको छ । इजाजत नै नलिइएको बाटोमा ९ प्लस १ सिट क्षमता भएका सवारी साधनहरु निर्वाध रुपमा सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिमा आवद्ध व्यवसायीले गुनासो गरेका छन्।
यातायात व्यवस्था ऐन २०४९ अनुसार ९ प्लस १ सिट क्षमता भएका गाडीलाई २५० किलोमिटरभन्दा लामो दुरीमा बाटोको इजाजतमा रोक लगाउने भनिए पनि त्यस्ता गाडीहरु जिल्लामा निर्वाध रुपमा सञ्चालन भइरहेको खोटाङ यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष फडिन्द्र राईले बताए। खोटाङको भूगोल अध्ययन नै नगरी यातायात व्यवस्था विभागले बाटोको इजाजत–पत्र जारी गरेकाले अनुगमन गरेर मात्र गाडीहरु सञ्चालनको पहल गरिदिन भन्दै खोटाङ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालयलाई चैत १ गते लिखित अनुरोध गरेको थियो।
काठ्माडौंदेखि दिक्तेलसम्मको बाटोको इजाजत लिएका सवारी साधनलाई सिधै दिक्तेल हुँदै पञ्चमी, मानेभञ्याङ, बाक्सिला, खार्ताम्छा, फेदी लगायतका ठाउँमा पनि कुदाउने गरिएको छ। यस बाहेक काठ्माडौंबाट भोजपुर जाने क्रममा खोटाङको हुर्लुङमै २५० किलोमिटर दुरी पुग्छ तर भोजपुर जाने सवारी साधन दिक्तेलबाट विना चेकजाँच ओहोर दोहोर गरिरहेको खोटाङ यातायात प्रालिका उपाध्यक्ष राईले बताए। रुट पर्मिट नलिइ सवारी साधन सञ्चालन भइरहेका बारेमा ट्राफिक प्रहरी कार्यालय समेत मौन बसेको यातायात प्रालिले जनाएको छ।
खोटाङ यातायात प्रालिले निजी सवारी साधनलाई भाडाको यात्रु बोकेर ओसार–पसार गर्ने सार्वजनिक यातायातको रुपमा प्रयोग गर्नमा रोक लगाउन प्रशासन समक्ष माग राखेका छन्। सो मागलाई कार्यान्वयन गर्नेगरी गृह–मन्त्रालयले समेत बुधबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने सवारीलाई रोक्न निर्देशन दिएको छ।
यस्तै, जथाभावी काउण्टरहरु राखेर यात्रुहरु तानातान गर्नमा रोक लगाउन, यातायात व्यवस्था विभागले इजाजत दिए पनि यात्रुलाई जोखिम हुने भएकाले कच्ची सडक र लामो दुरीमा अटो सञ्चालनमा रोक लगाउन, अटोको भाडा दर कायम गर्न आग्रह गरिएको बरिष्ठ उपाध्यक्ष राईले बताए।
प्रालिले जथाभावी सवारी साधन पार्किङ गरी यात्रु चढाउने, ओराल्ने र यात्रु तानातान गर्ने क्रियाकलापमा रोक लगाउन, दुर्घटना न्युनीकरणमा टेवा पु¥याउनका लागि जिल्लामा ट्राफिक प्रहरी चेक पोष्ट खडा गरेर ओहोर–दोहोर गर्ने सवारी साधनलाई अनिवार्य दर्ता गराउने वातावरण बनाउन आग्रह गरेको जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology