समायोजन खबर खोटाङ, खोटाङमा भूमि प्राप्तीका लागि परेको निवेदनलाई लगत प्रविष्ट प्रणालीमा प्रविष्ट सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोगले निकालेको ३५ दिने सूचनाको आधारमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जग्गा प्राप्ती गर्न स्थानीय तहमा दिएको निवेदनलाइ प्रणालीमा प्रविष्ट सुरु गरिएको हो।
जग्गा प्राप्तीका लागि आयोगले भदौ १ गतेदेखि ३१ गतेसम्म समय तोकेर सुचना निकालेको थियो। तर, १ असोजबाट निर्वाचन आचारसंहिता लागेपछि पुनः सोही समयलाई लम्बाएर मंसिर २८ गतेदेखि पुष २ गतेसम्म जग्गा प्राप्ती गर्न निवेदन दिन समय दिईएको थियो।
त्यही सूचनाका आधारमा जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाको वडाहरुमा आएको निवेदनलाई पुष ३ गतेबाट प्रणालीमा प्रविष्ट सुरु गरिएको मंगलबार जिल्ला समन्वय समितिमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जानकारी दिएको छ।
अहिले प्रत्येक स्थानीय तहले संकलित निवेदनलाई आयोगको प्रणालीमा लगत प्रविष्ट गरिरहेको जिल्ला नापी कार्यालयका प्रमुख एवंम् राष्ट्रिय भूमि आयोग जिल्ला समिति सदस्य सचिव मदन खत्रीले बताए। खत्रीका अनुसार पालिकाको नाममा आयोगले आइडी र पासवर्ड बनाईदिएको छ। त्यहीबाट पालिकाका कम्पयुटर अपरेटरले निवेदनलाई प्रविष्ट गर्दै निस्सा निकाल्ने काम भईरहेको छ।
भूमि प्राप्तीका लागि खोटेहाङ गाउँपालिकामा भूमिहीन सुकुम्बासी ८, भूमिहीन दलित ६, अव्यवस्थित बसोबासी १०, केपिलासगढी गाउँपालिकामा भूमिहीन दलित ६, अव्यवस्थित बसोबासी ६, जन्तेढुंगा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ३१, हलेसी तुवाचुङ नगरपालिकामा भूमिहीन सुकुम्बासी १४, भूमिहीन दलित ८, अव्यवस्थित बसोबासी १६२ र वराहपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १८, अव्यवस्थित बसोबासी ३७ जना रहेका छन्।
रावाबेशी गाउँपालिकामा भूमिहीन सुकुम्बासी १५, अव्यवस्थित बसोबासी ४२, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भूमिहीन सुकुम्बासी १६, भूमिहीन दलित ४, अव्यवस्थित बसोबासी ५२, ऐसेलुखर्क गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६, भूमिहीन दलित ४, साकेला गाउँपालिकामा भूमिहीन सुकुम्बासी ६, भूमिहीन दलित ६, अव्यवस्थित बसोबासी ६२ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भूमिहीन सुकुम्बासी ५१, भूमिहीन दलित १६, अव्यवस्थित बसोबासी २०० जना रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राईले बताए।
राईका अनुसार जिल्लाभर समग्रमा भूमिहीन सुकुम्बासी १४९ जना, भूमिहीन दलित ५० जना र अव्यवस्थित बसोबासी ५८० जना भएको प्राप्त निवेदनले जनाएको छ। दशैवटा स्थानीय तहले जग्गा प्राप्तीको निवेदनलाई प्रणालीमा प्रविष्ट गरिसकेपछि एकै पटक स्थानीय तहमा निस्सा बाँडिनेछ। प्रणालीमा प्रविष्टको काम सकेपछि निस्सा स्वतः निस्कनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology