समायोजन खबर खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको केन्द्र र बैंक टाढा हुँदा सेवाग्राहीलाई शास्ती भईरहेको छ। झण्डै एक घण्टाको दुरीमा पालिका केन्द्र र बैंक हुँदा सेवाग्राहीले नमिठो शास्ती खेप्नु परेकोे गुनासो गरेका छन्।
सामान्यतः कागजपत्र नमिलेर बैंक र पालिका कार्यालय २/३ पटकसम्म ओहोरदोहोर गर्दा दिनै जाने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन्। गाउँपालिकाको केन्द्र ५ नम्बर वडा याङसोलाटारमा छ। पालिकाभित्रको एक मात्र सानिमा बैंकको कार्यालय २ नम्बर वडा डाँडागाउँ ओख्रेमा छ। पालिकाबाट पैदल हिडेर बैंकसम्म पुग्न झण्डै एक घण्टा लाग्छ। सवारी साधन हुनेलाई धेरै समस्या नभए पनि नहुनेले शास्ती खेप्नु परेको डाँडागाउँका स्थानीय रोशन रोक्का बताउँछन्।
उपभोक्ता समितिमा बस्नेहरुलाई धेरै समस्या हुँदो रहेछ। वडाबाट सिफारिस लिएर पालिका आयो अनि बैंक गयो। कहिलेकाहीँ कागजपत्र नमिल्ने, छाप नमिल्ने हुन्छ अनि फेरी पालिका आएर बैंक गयो। यसरी त एक दिनको समय पुरै सकिन्छ।’ याम्खाका सइन्द्र कुमार राईले भने।
बैंक र पालिका टाढा हुँदा एउटा योजनाको खाता खोल्न एक हप्ता दुःख पाएको तीतो याथार्थ छ छोरम्बुका दिपक राईसँग। ‘पालिकाले वडामै आएर योजना सम्झौता गर्दियो हामीलाई केही सहज भयो। खाता खोल्न बैंक जादा कागजपत्र नमिलेको भन्दै बैंकले पालिका केन्द्र फर्काइदियो। पालिका आएर पुनः बैंक गएपनि समस्या देखाउदै बैंकले एक हप्ता अल्झाएर बल्ल खाता खोलिदियो।’ पालिका कार्यालय र बैंक नजिक भएको भए समस्याको समाधान चाडै हुने थियो। राईले दुखेसो पोखे।
अहिले पालिकाको काम सबै कम्प्युटरबाट हुने भएकाले कहिलेकाहीँ सामान्य त्रुटि हुने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले बताए। जुन त्रुटिले बैंकमा काम नमिलेर सेवाग्राहीहरु पुनः पालिका कार्यालयमा फिर्ता आउने गरेका छन्। जसले गर्दा पालिकाको कार्यालय र बैंक नजिकै भए नागरिकलाई शास्ती नहुने राईको भनाइ छ।
एक पालिका, एक बैंक अनिवार्य नीति अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा बैंक परेपछि २०७५ साल साउनमा ओख्रोमा बैंकको शाखा स्थापना गरिएको थियो। उक्त समयमा गाउँपालिकासँग समन्वय गरेरै ओख्रेमा बैंकको कार्यालय राखिएकाले तत्काल बैंक सार्ने संम्भावना नभएको सानिमा बैंक दिप्रुङ शाखा प्रमुख चेवन कुमार श्रेष्ठले बताए।
सुरुमा स्थापना गरेर अहिले कार्यालयहरु सार्दा विवाद हुने भएकाले बैंक सार्ने छलफल नभएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको भनाइ छ। तर, पालिका केन्द्र र बैंक टाढा हुँदा समस्या भने देखिएको उनले बताए। यता, नागरिकले भने उक्त बैंकको कार्यालय ओख्रेमा रहेपनि अन्य कुनै बैंक पालिका कार्यालय नजिक ल्याउन पहल गरिनु पर्ने माग गरिरहेका छन्। स्थानीय सरकारले नागरिकलाई धेरै कुरामा सहजता दिएपनि बैंक र पालिका केन्द्र टाढा हुँदा सास्ती खेप्नु परेको नागरिको व्यापक गुनासो छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology