समायोजन खबर खोटाङ,खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत अपचलन गरेपछि उसका बचतकर्ताहरुले दिक्तेलमा विरोध र्याली निकालेको छ। बचतकर्ताहरुको साँवा, ब्याजसहित बचत रकम फिर्ता नभएको भन्दै बचतकर्ताहरुले संघर्ष समिति बनाएर दिक्तेलबजारमा सोमबार भव्यरुपमा र्याली निकालेको हो।
सहकारी विरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको र्याली पूरानो बेशक्याम हुंदै रत्नपार्क, रत्नपार्क–त्रिवेणीचोक हुंदै सहकारीको कार्यालय पूरानो बैंकचोकमा पुगेको थियो। बचत जम्मागरी फिर्ता नपाएकाहरुको बाक्लो उपस्थिती भएको र्यालीले सहकारीको कार्यालयमा करीव १० मिनेट चर्को नारा लगाएको थियो।
विभिन्न प्लेकार्डसहितको र्याली सहकारीको कार्यालयदेखि जिल्ला समन्वय समितिको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सञ्चालक समिति भाग्न पाइन्दैन, हाम्रो रकम फिर्ता गर, बचतकर्तालाई ढाट्न पाइन्दैन, अनिल जोशी(सञ्चालक समिति अध्यक्ष)लाई उपस्थित गरा, रुकु जोशी(व्यवस्थापक)लाई उपस्थित गरा जस्ता नारा लगाएका थिए।
र्याली कोणसभामा परिणत गरेर संघर्ष समिति संयोजक पदमकुमारी सैजु, बचतकर्ता धनिराम नछुङ, सुवास खत्री, टंक आचार्य, प्रकाश अधिकारी, लेखनाथ आचार्य, दुर्गाप्रसाद घिमिरे सहकारीको समस्या लिएर प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईको कार्यकक्षमा पुगेका थिए । प्रजिअ सेडाईले बचत रकम फिर्ता गराउनमा प्रशस्त सहयोग गर्ने आश्वसन दिनुभएको संर्घष समितिका एकजना सदस्य दुर्गाप्रसाद घिमिरेले बताउनुभयो।
सोही टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईको कार्यकक्षमा पनि न्याय माग्दै पुगेका छन्। करीव २०० जना बचतकर्ताको प्रतिनिधित्व गर्दै पुगेको टोलीलाई उपमेयर राईले बचत अपचलन गर्नेलाई जसरी भए पनि कारवाही गरेर बचत रकम असुल उपरमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
११ लाख रकम बचत गरिएको र पटक–पटक पैसा माग्न आउँदा कर्मचारीले आलटाल गरिरहने गरेको बचतकर्ता दिक्तेलका लक्ष्मीदास सैंजुले बताउनुभयो। समितिलाई भन्यो, समितिले कर्मचारीलाई देखाउँछ, कर्मचारीले समितिलाई देखाउँछ यसरी आलटाल गरेर अलमलाई रहेका छन्। सैंजुले भन्नुभयोे, ‘बचत रकम फिर्ता गराईदिन सम्बन्धित निकायसँग आग्रह गर्दछौ।’ ६ लाख ७८ हजार जम्मा गरेकोमा पैसा माग्न सहकारी आउँदा अध्यक्षको मृत्यु भएको भन्दै आलटाल गरिरहेको अर्का बचतकर्ता पवित्रा पाण्डेले गुनासो पोख्नुभयो।
२०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको कारोवार ठप्प छ। अध्यक्षको निधन भएको २१ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरुले दैनिक सहकारीको कार्यालय घेरिरहेका छन्।
२०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन्। ऋणीबाट साँवा ब्याजगरी करीव १० करोड उठ्न बाँकी छ। न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन्। साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने रहेको सहकारीले जनाएको छ।
लगानी उठाएर बचतकर्ताको पैसा फिर्ता गर्ने सहकारीका कोषाध्यक्ष रमा शाक्यले बताउनुभयो। अध्यक्ष र म्यानेजरले मात्रै कारोवार गरेको देखिन्छ। अहिले त्यति कुरा थाहा छैन। शाक्यले भन्नुभयो। अहिले सहकारीको कार्यालय खोल्ने र ऋण उठाउने प्रयास भईरहेको कार्यालयले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology