समायोजन खबर खोटाङ, खोटाङमा कुनैबेला सुन्तलाको सदरमुकाम भनेर लामिडाँडालाई चिन्ने गरिन्थ्यो। लामिडाँडाको सुन्तला गाडीले मात्रै बोकेन। दैनिक रुपमा काठमाण्डौ, विराटनगर उडान भर्ने हेलिकोप्टर र हवाइजहाजले पनि बोक्ने गर्दथ्यो।
रावाबेंशी गाउँपालिका–३ लामिडाँडाको सुन्तलासँग अपवाद बाहेक सबै जानकार भएको हुनुपर्छ। लामिडाँडाको भन्ज्याङदेखि विमानस्थलसम्म सडकको दायाबायाँ लटरम्म फलेका सुन्तला चाखेकाहरुको मुख अहिले पनि रसाउँछ। मानसपटलमा ति दृश्य झलझली आउँछ। तर, अहिले तिनै सुन्तलाको सदरमुकाम लामिडाँडामा एकै दाना सुन्तला पाइन्दैन।
जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेंलो हुँंदै बोटै सुक्ने समस्याका कारण लामिडाँडामा अहिले सुन्तला चाख्न समेत पाइन्दैन। सुन्तलाका सबै बोट सुकेर झिक्रा भएपछि बगान रित्तिएको छ। अहिले मरिसकेका र सुकेका सुन्तलाका बोटहरु मात्रै पाइन्छ। सुन्तलाका बोट दाउरामा परिणत भएको छ। सुन्तला खान बाहिरबाट मगाउनुपर्छ। लामिडाँडा उजाड बनेको छ।
लामिडाँडामा सुकेका सुन्तलाका बोट।
लामिडाँडामा प्राय सबै कृषकले सुन्तला रोपेर राम्रै आम्दानी गरिरहेका थिए। तर, २०७२ सालपछि सुन्तलामा एकाकए समस्या आउन थालेको किसानको अनुभव छ। १०५ बोट सुन्तला रोपेकामा अहिले सबै सुकेर शुन्य भएको लामिडाँडाका शिवकुमार विश्वकर्माले गुनासो पोखे। सिजनमा सुन्तला फल्दा बेचेर बालबच्चालाई कापी, कलम किन्न र घरायसी खर्च गर्न पुग्थ्यो। अहिले त बारी नै रित्तियो विश्वकर्माले भने।
२५० बोट सुन्तलाबाट उत्पादन लिंदै आएका पुष्टनारायण श्रेष्ठको बगान नै रित्तिएको छ। उनले अहिले सुन्तलाको बगान बनाएको स्थानमा केरा खेती गरेका छन्। जहाज र हेलिकोप्टरमा सुन्तला अन्यत्र पठाएका श्रेष्ठलाई ति दिनहरु कथाजस्तो लाग्छ।
लामिडाँडाका सुन्तलाको ५ वटा सेम्पल पिसिआर गर्दा सिट्रस ग्रिनिङ रोग पत्ता लागेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए। सिट्रस ग्रिनिङ रोगसँगै झ्याउ पलाउने, डाँठहरु कुहिने, टुप्पोहरु मर्दै तल आउनाले सुन्तलाको बोट मासिएको यादवले सुनाए।
सुन्तलामा सिट्रस ग्रिनिङ लागेपछि निको पार्न सकिन्दैन, यो माइक्रोप्लाज्माले लाग्ने रोग हो। अब अन्त फैलिन नदिन सिट्रस सिल्ला किरालाई नियन्त्रण गर्नुको विकल्प छैन। त्यहाँ नयाँ वोटहरु रोप्ने बेलामा प्रमाणित विरुवा सिफारिस गर्छौ यादवले भने।
बोट सुक्दै गएपछि लामिडाँडामा ढालिएको सुन्तलाका बोट।
कृषि ज्ञान केन्द्रले लामिडाँडाका सुन्तला जोगाउन जरा कुहिने रोगबाट बचाउन कोनिका विषादी, सिट्रस सिल्ला किरा नियन्त्रण गर्न डेल्टा मेथ्रिन, रोगी विरुवाको हाँगा काँटछाँट गर्न सिकेचर मेशिन, किराहरु नियन्त्रण गर्न आर्कषण पासो तथा सिट्रस ग्रिनिङ र सिट्रस सिल्लाका बारेमा तयार गरिएको हाते ब्रुसर वितरण गरिसकेको छ।
सुन्तलाले प्रसिद्धि कमाएको ठाउँको पहिचान नै गुम्ने भएपछि स्थानीय सरकार चिन्तित बनेको छ। सुन्तला बचाउन विज्ञ झिकाएर खोज अनुसन्धान गर्नमा स्थानीय सरकार पनि राम्रै लागि परेको देखिन्छ। तर, त्यसो गर्दा पनि तत्काल सुन्तलाको समस्याको निकास ननिस्केपछि अहिलेलाई भएका सुन्तलाका विरुवाहरुलाई परिक्षण गर्दै हुर्काउने र अर्को वर्षदेखि प्राविधिक ट्रीटमेन्ट भएको सुन्तलाका विरुवाहरु मात्रै लगाउने/वितरण गरिने रावाबेंशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो।
लामिडाँडामा सुन्तला मासिएसँगै त्यहाँका कृषकहरुले खाली भएका बारी र बगानहरुमा विकल्पका रुपमा केरा तथा तोरी खेती गर्न थालेका छन्। छिमेकी वडा खार्पा, कुभिण्डेको सुन्तलामा पनि यहि समस्या भएर सुन्तला मासिदै गएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology