• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काम नसकी फोक्सिङटार पुल सञ्चालनमा

काम नसकी फोक्सिङटार पुल सञ्चालनमा


समायोजन खबर
  • बिहिबार, पौस ७ २०७९

  • फोक्सिङटार पुलमाथि सामानको थुप्रो। तस्विर, खोटेहाङ गाउँपालिका।

    समायोजन खबर खोटाङ,दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको कामै नसकी सञ्चालनमा ल्याइएको छ। २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको सुनकोशीस्थित फोक्सिङ्टार पक्की पुल निर्माण शुरु गरेको दश वर्षपछि पनि कामै नसकी बिहीबारबाट सञ्चालनमा ल्याइएको हो।

    सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत सहजता हुने अपेक्षा गरिएको छ । पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो ।

    अस्थायी रुपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता थियो। ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको हो।तस्विर, खोटेहाङ गाउँपालिका ।

    खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको थियो। पुल अभावमा हरेक वर्ष करीब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको थियो।

    फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो।

    फोक्सिङटारमा शुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाईनको पक्की पुल निर्माण गर्ने भन्दै २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक स्वरुप अप्ठ्यारो भएका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो।

    फोक्सिङ्टार पुल निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएसँगै गत निर्वाचनमा जिल्लास्थित राजनीतिक दलका नेताहरुको जस लिने माध्यम बनेको थियो । गत मङ्सिर–४ गते देशभर एकैसाथ भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होटबाजीमा नेताहरु लागेका थिए।तस्विर, खोटेहाङ गाउँपालिका ।

    फोक्सिङ्टारमा पक्की पुल निर्माणको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ‘पासाङ’ र समिता कार्की ‘अस्मिता’को पालामा आर्थिक वर्ष २०६७/६८ मा परेको हो । योजना जसको पहलमा परेपनि फोक्सिङटार पुल सञ्चालनमा आएपछि भने, जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज भएको छ।

    यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै फिनिसिङको काम सम्पन्न नहुँदै निर्माणाधीन फोक्सिङ्टार पुलमा यातायात सञ्चालन गरिएको निर्माण व्यवसायी रामकुमार थापाले बताए। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको १२० मिटर लामो छ। फोक्सिङ्टार पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको हो।
    सडक नबन्दा समस्या कायमै
    कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार(४९ किलोमिटर) सडक अलपत्र अवस्थामा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त महुरे–फोक्सिङटार सडक कालोपत्र ठेकेदार कम्पनीको चरम लापरबाहीले अलपत्र परेको हो।फोक्सिङटारस्थित धुलाम्मे सडक । सडकमा थुपारिएको गिटीमा झार पलाएको छ।

    मध्यपहाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले जिम्मा लिएको थियो। दुवै सडक ठेकेदारको लापरबाहीले कालोपत्रको काम नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोका कारण यात्रुहरु समस्यामा पर्ने गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology