समायोजन खबर खोटाङ,खोटाङको त्रि–धार्मिकस्थल हलेसी महादेव मन्दिरमा बाला चतुर्दशीमा साढे ७ लाख बढी भेटीघाटी संकलन भएको छ। हलेसी महादेव शिव पार्वती थान, मन्दिरको प्राङगणमा रहेको दान पेटिका, बसाहा दान पेटिका, गणेश मन्दिर दान पेटिका गरी कूल ७ लाख ५० हजार ९८५ रुपैयाँ भेटीघाटी संकलन भएको हो।
२०७९ कात्र्तिक २५ गतेदेखि २०७९ मंसिर १२ गतेसम्म(बाला चतुर्दशीमा)उक्त भेटीघाटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभयो। राईका अनुसार शिव पार्वती थान दान पेटिकामा ५ लाख ९४ हजार ४८५ रुपैयाँ, मन्दिर प्राङगणमा रहेको दान पेटिकामा ५३ हजार १०५ रुपैयाँ भेटीघाटी संकलन भएको छ। बसाहा दान पेटिकामा ४८ हजार ९४० र गणेश मन्दिर दान पेटिकामा ५४ हजार ४५५ रुपैयाँ भेटी संकलन भएको छ।
यस्तै, भारतीय रुपैयाँ १९ हजार ७९०, मलेशियन रिंगेट ११२, कतारी रियाल ५, साउदी अरेवियन रियाल १, तथा चाँदि ७.६१ तोला र सुन ०.१६५ तोला श्रद्धालु भक्तजनले चढाएका छन्।
संकलित भेटीमा पानी, विजुली, भेटी गणना, अतिथि खाजा, विभिन्न आर्थिक सहयोगका बिल भरपाई लगायतका खर्च विवरणहरु समावेश भएको छैन। खर्चहरु कटाई जम्मा रहेको भेटीलाई माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको ‘हलेसी मन्दिर व्यवस्थापन समिति’को खातामा जम्मा गरिने सूचना केन्द्रका प्रमुख राईले बताए।
मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय सरकार कार्यान्वयन भएसँगै हलेसी तुवाचुङ नगरपालिकाले हलेसी सूचना केन्द्र स्थापना गरी कर्मचारी राखेर संकलन भएको भेटीघाटी समय–समयमा सार्वजनिक गर्दै आएको छ। भेटीघाटीमा दुरुपयोग हुन नदिन मन्दिर परिसरमा सीसी क्यामेरा समेत राखिएको छ।
संकलन भएको भेटी गणनाका लागि सीसी क्यामेराको निगरानीमा सूचना केन्द्र, हलेसी विकास समिति, प्रहरी र मन्दिर व्यवस्थापन समितिका एक/एक जना प्रतिनिधि राखिने गरेको छ। भेटी गनेर सकिएपछि तत्काल बैंकमा जम्मा गरिने र मन्दिर व्यवस्थापन लगायतमा काम गर्ने कर्मचारीहरुलाई बैकिङ प्रणालीबाट तलब दिने व्यवस्था मिलाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology