समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काम नगर्ने ठेकेदारको मेशिनमा तालाबन्दी गरिदिएको छ। नगरभित्र सञ्चालित योजना अलपत्र पारी सर्वसाधारणलाई दुःख शास्ती दिने ठेकेदारको मेशिनमा तालाबन्दी गरिदिएको हो।
जिल्ला अस्पताल चोक लफ्याङ सडक खण्डको काम अलपत्र पार्ने ढुकुचु/बगाले/विएण्टी जेभीले लफ्याङमा राखेकोे मेशिनमा आइतवार तालाबन्दी गरिएको नगरपालिकाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
नगरप्रमुख तीर्थराज भट्टराईको निर्देशन तथा उपप्रमुख बिसन राईको उपस्थितिमा नगरका प्रवक्ता तथा लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलका वडाध्यक्ष नवराज राईले जेसिबी र स्काइभेटरमा फलामे साङलो कसेर तालाबन्दी गरेका हुन्।
करीव ५ करोड वजेटमा ठेक्का सम्झौता गरेर काम अलपत्र पार्ने जेभीले निर्माण कार्य पुनः सुचारु नगरी निर्माण कार्य अपुरो तथा अलपत्र अवस्था रहंदा उनको ४ महिना अवधि बाँकी रहेको र सो अवधिमा दु्रततर गतीमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिन हुने सन्दर्भमा हाल आएर निर्माणस्थलमा भएको मेशिनरी सामानहरु अन्यत्र लैजाने कोशिस गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको नगरका प्रवक्ता घिमिरेले बताए। निर्माण कम्पनी आएर नगरपालिकामा छलफल गरी काम अगाडी बढाउछु भनेर प्रतिबद्धता जनाएर काम सुरु गरेपछि मात्रै तालाबन्दी खोलिने घिमिरेले बताए।
निर्माण कम्पनीले सडक निर्माण कार्य अधुरो–अपुरो राख्दा स्थानीय नागरिकलाई दुःख शास्ती हुने, नगरपालिकाको विकासमा अवरोध पुग्ने, ज्येष्ठ नागरिक, अशक्त, बालबालिका, महिलाहरुलाई आवतजावतमा समस्या हुने गरेको छ । अन्य पालिकाबाट जिल्ला अस्पतालसम्म विरामीहरु ल्याउन समेत कठिनाई भई हेलिकोप्टर चार्टड गर्नुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर मेशिनरी सामानमा तालाबन्दी गर्नलाई निर्देशन दिईएको नगरप्रमुख भट्टराईले बताए। योजनाको निर्माण कार्य पुनः सुचारु नभइञ्जेल अथवा अर्को व्यवस्था नभएसम्म तालाबन्दी जारी रहने भट्टराईले बताए।
जिल्ला अस्पताल चोक लफ्याङ सडक खण्ड
विभिन्न सरकारी कार्यालयको वजेटबाट नगरपालिकाभित्र सञ्चालित १७ वटा योजनाहरु अलपत्र परेपछि नगरपालिकाले ३ असोजमा पत्रकार सम्मेलन गरेर उक्त योजना सञ्चालन गरिरहेका निर्माण व्यवसायी तथा कम्पनीलाई ३५ दिनभित्र नगरसँग सम्पर्क गरी हालसम्म भएको विवरण बुझाउन अल्टिमेटम दिएको थियो। विवरण बुझाउन तोकिएको १७ वित्दा उक्त जेभीले विवरण बुझाउनुको सट्टा निर्माणस्थलबाट उल्टै मेशिनरी सामान लैजान खोजेको हो।
नगरभित्र सञ्चालित अन्य १६ वटा योजनाले पनि ३५ दिनभित्र प्रगति विवरण नबुझाएमा र उक्त समयभित्र काम पुनः सुचारु नगरेमा निर्माण व्यवसायीहरुलाई कानून बमोजिमको हदैसम्मको कारवाहीको लागि नियमक निकायमा शिफारिस गरिने नगरप्रमुख भट्टराईले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology