समायोजन खबर खोटाङ, वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ। नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं.प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जामन्त्री पासाङ बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुभएको हो ।
वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद बन्नुभएका पासाङ वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित हुनुभएको थियो। खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मनुभएका पासाङ वि.सं.२०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील हुनुभएको थियो।
तत्कालीन नेकपा (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिक यात्रा शुरु गर्नुभएका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा वि.सं. २०४९ देखि ०५८ सालसम्म क्रियाशील रहनुभएको थियो। वि.सं. २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, सङ्खुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुली सक्नुभएको छ। भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत हुनुभएका पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा चिनिनुहुन्छ।
वि.सं. २०६२/०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ। भर्खर ढलानको काम सकिएको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारस्थित सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल पासाङकै पालामा योजना परेको हो।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष पासाङले १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर्जा मन्त्रालयबाट ७४ वटा नयाँ योजनाका लागि रु आठ करोड २६ लाख ९० हजार बजेट विनियोजन गर्नुभएको छ। प्रदेशबाट आएको योजनाका लागि उपभोक्ता समितिसँग सम्झौता गरेर निर्माणको काम शुरु गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology