• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ भूकम्प अपडेट : एक घर भत्कियो, ४७ घर चर्कियो

खोटाङ भूकम्प अपडेट : एक घर भत्कियो, ४७ घर चर्कियो


समायोजन खबर
  • आइतबार, साउन १५ २०७९

  • भुकम्पका कारण मात्तिमविर्तामा चर्कीएको घर ।

    समायोजन खबर खोटाङ, साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज (आइतबार) बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ।

    मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो। “भूकम्पको केन्द्र मात्तिमविर्तामात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरुबाट खबर आइरहेको छ। अहिले पानी परिरहेकाले अन्य वडाको विवरण सङ्कलन हुन सकेको छैन।”

    सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ। सो नगरपालिकाको वडा नं.–७ महादेवस्थानका गङ्गा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नं.–९ सल्लेका ध्रुव पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा नं.–७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो।

    हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह–मन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो।

    भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सर्तकता अपनाउन जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताउनुभयो। “जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ”, उहाँले भन्नुभयो, “कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ।”

    वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लाबासी त्रसित बनेका छन्।

    दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनबढी पराकम्प गएको महसुस गरिएको छ। पटक–पटक पराकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology