समायोजन खबर खोटाङ, खोटाङको हलेसी तवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ। २०७८ बैशाख महिनादेखि २०७९ बैशाखसम्मका १५ महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो।
बुधबार दुर्छिमस्थित होलेसुङ रिसोर्टमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन्।
११ वडाकै स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य चौकीको तथ्यांकले नगरपालिकाभित्र जन्मिएर १५ महिना पुगेका ९६ प्रतिशत बालिबालिकाले विसीजी एक मात्रा, डिपिटी–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा, दादुरा–रुबेलाको दुबै मात्रा लगायतका १२ किसिमका खोप लगाईसकेको आधारमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगर स्वास्थ्थ शाखा संयोजक खेमराज आचार्यले जानकारी दिए।
आचार्यका अनुसार बाँकी ४ प्रतिशत बालबालिका नगरपालिका बाहिर रहेता पनि सबै खोप लगाईसकेको सर्वेक्षणबाट यक्किन भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
वर्षदिनमा ५११ जना बालबालिका जन्मिएकामा ४९१ जना बालिबालिकाले विभिन्न वडाको स्वास्थ्य चौकीबाट बाँकी २० जना बालबालिकाले नगरपालिकाभन्दा बाहिरका स्वास्थ्य चौकीबाट १५ महिनासम्ममा लगाउनुपर्ने सम्पूर्ण खोप लगाएका छन्।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिसस प्रमुख राई, निवर्तमान जिसस प्रमुख ववि चाम्लिङ, उपमेयर रमेशकुमार राउत, नेपाली कांग्रेसका निवर्तमान सभापति नरेशकुमार श्रेष्ठ, माओवादी केन्द्रका अध्यक्ष दिपक पाण्डे, जनता समाजवादी पार्टीका सचिव जीवराज पोखरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल, स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँई, बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, महादेवस्थानका वडाध्यक्ष कमल गिरी लगायतको उपस्थिति थियो।
कार्यक्रममा महादेवस्थान स्वास्थ्य चौकीमा कार्यरत बसन्तकुमारी राईलाई नगदसहित उत्कृष्ट स्वंयमसेविका पुरस्कार प्रदान गरिएको छ । खोप कार्यकर्ताहरुलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरिएको र आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वास्थ्य प्रतिवेदन पनि सार्वजनिक गरिएको स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरे बताए। घिमिरेका अनुसार कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति, नेपाल पत्रकार महासंघ र जिल्ला स्वास्थ्य कार्यालयलाई मायाको चिनो प्रदान गरिएको छ।
स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील र जटिल भएकाले सेवा दिनमा एकैछिन पनि ढिला गर्न नहुने र त्यसो नगर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई उपमेयर राउतले निर्देशन दिनुभएको छ।
२०७४ सालदेखि नै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन नगरपालिका लागि परिरहेको मेयर राईले बताउनुभयो। आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वजेटमा स्वास्थ्यलाई झन प्राथमिकता दिईएको उहाँको भनाई छ। नगरपालिका भित्र वर्थिङ सेन्टर सहितको ११ वटा स्वास्थ्य चौकी र चार वटा शहरी स्वास्थ्य चौकी सञ्चालनमा छ । दुई वटा शहरी स्वास्थ्य चौकीलाई सञ्चालनमा ल्याउन तयारी भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology