समायोजन खबर खोटाङ, कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ। प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो।
स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ।
विश्वभर प्रत्येक वर्ष यो रोगका दुईदेखि चारलाख संक्रमण हुने गरेको पाइन्छ। संक्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो। यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ।
कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ। यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल एचआइभी तथा कालाजारको संयुक्त संक्रमण चासोको विषयको रूपमा देखापर्न थालेको छ।
बचाउ तथा सुरक्षा
हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि छैन। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो। यो भुसुनाको टोकाइबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ।
घरबाहिर हुंदा
१.प्रायजसो साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने।
२. बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने। लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने।
३. शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलहमहरू लगाउने । यसरी मलहम लगाउँदा यसको बट्टामा लेखिएको विधिहरू अपनाउनु पर्छ।
घरभित्र हुंदा
१. खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकुलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने।
२. स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् भन्ने कुरा याद गर्ने।
३. सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने।
४. झ्यालढोकामा जाली नलगाइएको वा वातानुकुलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउने । सम्भव भएसम्म कीरा मार्ने औषधिमा (कीटनाशक भएको पाइरिथ्रोइड) डुबाइएको वा त्यस्तो औषधि छर्किएको झुलको प्रयोग गर्ने। यस्तो औषधि झ्याल/ढोकाका खापा, भित्ता, पर्दा, तन्ना, सिरक तथा अन्य कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ । धुने कपडाहरूमा पाँच पटक धोएपछि कीरा मार्ने औषधिको असर समाप्त हुने हुनाले पुन उपचार गर्नु पर्ने हुन्छ ।
यो पनि पढ्नुहोस,बाहुनीडाँडामा पुनः दुई जनामा कालाजार पूष्टि
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology