समायोजन खबर खोटाङ, खोटाङमा महाभूकम्पपछि पुर्ननिर्माणतर्फ १४६ वटा सामुदायिक विद्यालय भवनहरु निर्माण भएका छन्। २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६२ वटा विद्यालय भवनहरुमध्ये विभिन्न आथिर्क वर्षमा अपांगमैत्री र महिलामैत्री गरेर १४६ वटा विद्यालय भवनहरु निर्माण सम्पन्न भएको हो।
राष्ट्रिय पुर्ननिर्माणको वजेट र एकै डिजाईन तथा ड्रोइङमा १३० वटा तथा गैर सरकारी संस्थाको बजेटमा १६ वटा गरी हालसम्म कुल १४६ वटा भवन निर्माण सम्पन्न भएको छ। विद्यालय भवनहरु दुई कोठे, तीन कोठे र चार कोठे निर्माण भएका हुन्। १६ वटा भवन निर्माणको काम धमाधम भईरहेको छ। ति भवनहरु चैत्र मसान्तसम्म निर्माण भईसक्ने शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका ईन्जिनियर बुद्धन यादवले जानकारी दिए।
यादवका अनुसार जिल्लाभरका ९९ विद्यालयहरुमा आधुनिक शौचालय निर्माण भईरहेको छ। उक्त शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन/फेर्न सक्नेछन्। हालसम्म ८७ वटा शौचालय निर्माण भईसकेको र १२ वटा शौचालय निर्माणको काम धमाधम भईरहेको छ।
प्राधिकरणको बजेटमै ५१ वटा विद्यालयमा खानेपानीको आयोजना परेको छ। ४६ वटा विद्यालयमा खानेपानीको आयोजना सम्पन्न भएको छ। ५ वटा विद्यालयमा खानेपानीको आयोजना निर्माण हुन बाँकी छ।
प्राधिकरणले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुईकोठे भवन निर्माणका लागि २३ लाख ९० हजार, शौचालय निर्माणका लागि १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख ४० हजार वजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएर विद्यालय भवन, शौचालय निर्माण तथा खानेपानी आयोजना निर्माण गरेको हो। विद्यालय भवन, शौचालय र खानेपानी आयोजनाको काम जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)ले हेर्दै आए पनि गत असारपछि उक्त कार्यालय नै उठेपछि अहिले शिक्षा विकास तथा समन्वय इकाईले हेर्दै आएको छ।
कुन पालिकामा कती विद्यालय भवन
ऐसेलुखर्क गाउँपालिकामा ५ विद्यालय भवन, ६ वटा शौचालय, २ खानेपानी योजना, केपिलासगढी गाउँपालिकामा ८ विद्यालय भवन, ४ शौचालय, ३ खानेपानी, रावाबेशी गाउँपालिकामा ९ विद्यालय भवन, ५ शौचालय, ४ खानेपानी, हलेसी तुवाचुङ नगरपालिकामा ३३ विद्यालय भवन, १९ शौचालय, ११ खानेपानी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३८ विद्यालय भवन, २३ शौचालय, ९ खानेपानी आयोजना परेको हो ।
साकेला गाउँपालिकामा ९ विद्यालय भवन, ४ शौचालय, २ खानेपानी, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १९ विद्यालय भवन, ९ शौचालय, ४ खानेपानी, खोटेहाङ गाउँपालिकामा १६ विद्यालय भवन, ९ शौचालय, ४ खानेपानी, जन्तेढुंगा गाउँपालिकामा १० विद्यालय भवन, ८ शौचालय, ५ खानेपानी र बराहपोखरी गाउँपालिकामा १५ विद्यालय भवन, १२ शौचालय, ७ खानेपानी आयोजना परेको हो। यसैविच खोटेहाङ गाउँपालिकामा साउदी फण्डले एकवटा विद्यालय भवन निर्माण गरिरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology